जनयुद्ध दिवस’ : माओवादीको मोहभंग, एमालेको अरुचि

0
1364

२३ वर्ष पार गरेको ‘जनयुद्ध दिवस’लाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धुम्बाराहीको एक हलमा स्मरण गर्‍यो। यसका लागि पार्टीका केही नेता तथा कार्यकर्ता एक घन्टासम्म पार्टी कार्यालयमा जम्मा भएका थिए।

युद्धकालमा तत्कालीन सरकारका विरुद्ध प्रतिरोध गर्दै जनयुद्ध दिवस मनाउने गरेको माओवादीले शान्तिकालमा प्रवेश गरेसँगै फरक तरिकाले मनाउने गरेको थियो। शान्ति प्रक्रियाका सुरुका वर्षमा तत्कालीन माओवादीले राजधानी सहरभर ‘राता मान्छेहरु’ उतार्ने गरेको थियो।

काठमाडौंको मुकाम खुलामञ्चमा हजारौंलाई उतार्न सक्ने हैसियतमा माओवादी थियो। यद्यपि उसका कार्यक्रममा कति स्वस्फूर्त र कति जबर्जस्तीमा परेर आउँथे, त्यो बेग्लै कुरा हो। त्यस्ता सभामा भने नेता तथा कार्यकर्ताले चर्का नारा लगाउँथे। कार्यकर्तालाई जुरुक्क बनाउने खालको क्रान्तिकारी भाषण गर्थे। शासन व्यवस्थाका विरुद्ध पुनः हतियार उठाउने चेतावनी दिन्थे। सभाले भने बेस्सरी र लामोलामो ताली मार्फत नेताको कुरा अनुमोदन गर्थ्यो।

युद्धका क्रममा भीषण आक्रमण गर्दै, मर्दै र मार्दै मनाउँदै आइएको जनयुद्ध दिवस मनाउने शैली शान्तिकाल आएसँगै बिस्तारै परिवर्तन हुन थाल्यो। क्रान्तिका जोस र सपना सकिएजस्तो देखिन थाल्यो। शान्तिकालको सुरुताका जनयुद्ध दिवस मनाउन सहभागी अटाइनअटाइ हुन्थे, पछिल्लो वर्ष उसका लागि पार्टी कार्यालय पनि ठूलो भएको देखियो।

वर्तमानमा ‘जनयुद्ध दिवस’
विगतको क्रान्तिकारी छवि भएको माओवादीको शक्ति भुत्ते साबित भएको छ। चर्का नारा, राता मान्छे र उग्र भाषण माओवादीका लागि इतिहास बनेको छ। संसदीय व्यवस्थामा फसिसकेको माओवादी पूर्व एमालेसँग एकता गरेपछि ‘जनयुद्ध दिवस’लाई ओझेलमा परेको बुधबारको घटनाक्रमले देखिन्छ।

नवगठित पार्टीको केन्द्रीय कार्यालय पूर्व एमालेको कार्यालयलाई बनाइएको छ। पूर्व माओवादीको प्रधान कार्यालयलाई नेकपाले जनवर्गीय संगठनको कार्यालय बनाएको छ। जनयुद्ध दिवसको पहिलो कार्यक्रममा नेकपाका सहअध्यक्ष प्रचण्डले पेरिसडाँडाबाट सुरु गरे। सहिद स्मृति स्तम्भमा माल्यार्पणका लागि पुगेका प्रचण्डलाई स्वागत गर्न पूर्व माओवादीका नेता तथा कार्यकर्ता मात्रै पुगेका थिए। केन्द्रीय नेता लेखराज भट्ट र मणि थापाले प्रचण्डलाई पेरिसडाडामा स्वागत गरे।

तर, उक्त कार्यक्रममा पूर्व एमालेका नेता कार्यकर्ता कोही देखिएनन्। एकै पार्टीमा रहेर पनि पूर्व एमालेका नेता कार्यकर्ताले आफ्नै अध्यक्ष उपस्थित कार्यक्रमलाई महत्त्व दिएनन्। प्रचण्डले सहिद स्मारकमा माल्यार्पण गरे। अन्य नेता कार्यकर्ताले जनयुद्ध दिवसको पक्षमा नारा लगाए। रातो अबिर टीका लगाई खुसी साटासाट गरे।

धुम्बाराहीको दृश्य
पार्टी महासचिव विष्णु पौडेलले जिल्ला तथा जनवर्गीय संगठनलाई ‘जनआन्दोलन र जनयुद्धका महान सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ राख्न परिपत्र गरेका थिए। बुधबारको कार्यक्रमका लागि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि उपस्थित गराउन चाहेका थिए। तर, ओलीले रुचि देखाएनन्।

केन्द्रीय कार्यलयमा हुने कार्यक्रम हुनुअघि महासचिव विष्णु पौडेललेसँगै आग्रह गर्न बालुवाटार पुगेका थिए। तर, ओली धुम्बाराही उपस्थित हुन चाहेनन्। प्रचण्डले ओलीलाई एक विषय मनाउन भने सफल भए। हरेक फागुन १ लाई जनआन्दोलनका सहिदहरुसँगै जोडेर श्रद्धाञ्जली कार्यक्रम राख्ने।

 

पुरानो एमालेको मुख्यालय (हाल नेकपा केन्द्रीय कार्यालय) मा बिहान ९ बजेदेखि पूर्व माओवादी कार्यकर्ताको प्रवेश सुरु भएको थियो। तर, पूर्व एमालेतर्फबाट कार्यालयमा प्रवेश गर्नेको संख्या अत्यन्त न्यून थियो। संख्या बढ्दै गएपछि माओवादीतर्फका नेताहरु अबिर लगाउन सुरु गरे। खुसी साटासाट गर्ने क्रममा अबिर लगाउनेहरुमा एमाले तर्फमा नेता कार्यकर्ता देखिएनन्। पूर्व माओवादी नेता कालीबहादुर मल्लले उपस्थितहरुलाई टीका लगाइदिए।

पूर्व एमालेतर्फका शीर्ष तहका नेतामा सचिवालय सदस्य वामदेव गौतम सबैभन्दा अघि कार्यालय प्रवेश गरे। कार्यक्रममा पूर्व एमालेबाट विष्णु पौडेल, सुवास नेम्वाङ, अमृत बोहरा, युवराज कार्की, वेदुराम भुसाल, जगत विश्वकर्मा लगायतका नेताहरु उपस्थित भए। गौतम औपचारिक कार्यक्रममा सुरु नहुँदै बाहिरिए।

कार्यालय सचिव भएकाले विशेष गरी धुम्बाराहीका कार्यक्रमहरुको उद्घोषण कृष्णगोपाल श्रेष्ठले गर्ने प्रचलन थियो। बुधबारको कार्यक्रम भने त्यस्तो रहेन। श्रेष्ठको अरुचिले होला, सहिद श्रदाञ्जली कार्यक्रमको सञ्चालन प्रल्हाद बुढाथोकीले गरे। बुढाथोकी पूर्व माओवादीको केन्द्रीय कार्यलयका सचिव थिए।

मञ्चमा लहरै राखिएका सहिदहरुको तस्बिरमा दुवै पक्षका नेताले माल्यार्पण गरे। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित युद्धको क्रममा मारिएका आठ केन्द्रीय नेताहरुमा पूर्व एमालेका नेताहरुले पनि माल्यार्पण गरे। राणा शासनको विरुद्धमा लागेर ज्यान गुमाएका चार, सुखानी काण्डका चार र दोस्रो जनआन्दोलनमा ज्यान गुमाएका २६ सहिदहरुलाई सामूहिक रुपमा माल्यार्पण गरिएको थियो।

पूर्व एमालेबाट कार्यक्रममा बोल्ने क्रममा नेकपाका महासचिवले जनयुद्धको परिघटनाबारे चर्चा गर्न चाहेनन्। पौडेलले जनयुद्धदेखि हालसम्मका सबै सहिदको बाटोमा हिँड्ने वचन व्यक्त गरे।

जनयुद्धका कमाण्डर प्रचण्ड विगतका सहिद दिवसका सभाहरुमा जनयुद्धको एकोहोरो बखानमा समय खर्चिन्थे। बुधबारको कार्यक्रममा भने जनयुद्धसँगै अन्य राजनैतिक आन्दोलनलाई पनि उत्तिकै महत्व दिए। उनले दिवंगत एमाले नेता मदन भण्डारीको पक्षमा खुलेर धारणा राखे। संसदीय व्यवस्था अँगाल्दै आएको एमाले र युद्धरत माओवादी दुवै पक्षले कम्युनिस्ट आन्दोलनलाई टेवा पुर्‍याएको बताए।