प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताउनुभएको छ ।
आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिको आधारसमेत तयार भएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु हुन्छ, समयको सीमा हुन्छ, मान्छेको ज्ञानको सीमा छ, सामथ्र्यको पनि सीमा हुन्छ तर मैले भन्दै आएको छु इमानको कुनै सीमा हुन्न निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।”
सरकारले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पहिलो वर्ष आधार खडा गरेको र आगामी वर्ष उपलब्धिका वर्ष हुने स्पष्ट पार्नुभयो । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत आफूहरुले व्यक्त गरेको प्रतिबद्धता पूरा ग¥र्यौं है भन्ने अवस्थामा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईं हामीले देख्ने सपना अर्कै हुनेछ ।”
जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शक रहेको भन्दै उहाँले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको वर्तमान सरकारलाई खबरदारी गर्ने जनताको सार्वभौम हकलाई उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आलोचनाका नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि प्रहार गर्ने जाग्न थालेका प्रसङ्ग उल्लेख गर्दै जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा, हतासा र कुण्ठा प्रवाहित गर्ने तथा समाजमा अस्थिरता सिर्जना गर्ने कुरा भने उचित नहुने प्रधानमन्त्रीको भनाइ थियो ।
उहाँले भन्नुभयो, “इतिहासले समृद्ध नेपाल निर्माणको अभिभारा प्रधानमन्त्रीका रुपमा मेरो र बहुमत प्राप्त दलका रुपमा नेकपाको काँधमा सुम्पिदिएको छ, तर हामीहरु त निमित्त मात्रै हौँ, यो अभियान हामी सबैको हो । यस यात्रामा हामी सबै सहयात्री हौँ, मुलुक सवल समृद्ध र समुन्त बन्दा हामी सबैको मुहारमा उज्यालो छाउँछ । हामी सबैको शिर उचो हुन्छ ।”
निर्वाचनको परिणामबाट राजनीतिक स्थायित्व प्राप्त भएको र त्यो संसद् तथा अन्य निर्वाचित निकायमार्फत अभिव्यक्त भएको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले सरकार आर्थिक स्थायित्वतिर अग्रसर भएको र त्यसमा रहेका चुनौती के के हुन् मात्र नभई कोको हुन् भन्ने पनि राम्रैसँग थाहा भएको बताउनुभयो ।
“कतिलाई यही स्थायित्व अभिशाप बनेको हुनसक्छ, राजनीतिक स्थायित्वलाई तेजबोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्धत छन् तर समृद्ध नेपाल निर्माणको यस ऐतिहासिक यात्रामा हिँड्दै गरेका बेला इमान र निष्ठाको साहराले अवरोध भत्काउँदै आएका छौँ र तोड्दै जानेछौँ”, प्रधानमन्त्रीले भन्नुभयो ।
केही मानिसमा विचारधारात्मक आग्रह पूर्वाग्रह देखिएको, जनतालाई सबै हिसाबका सार्वभौम तुल्याउने र सबल बनाउने अभियानबाट ध्यान बराल्न लोकतन्त्र खुम्चिना थाल्यो, अधिनायकबाद आयो भन्ने अफवाह फैलाइएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभयो ।
फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु, आश्चर्यलाग्दो दृष्टि दोष मात्रै हो भन्दै प्रधानमन्त्री भन्नुभयो, “लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त सुसङ्गत र परिस्कृत व्यवस्था हो, जिविका चलाउने व्यवसाय हैन, यो कसैले कृपा गरेर स्थापना गरिदिएको र हामीले सुविधासाथ भोगचलन गर्न चाहेको व्यवस्था हैन । हाम्रा सचेत सुविचारित र बलिदानीपूर्ण सङ्घर्षले स्थापना गरेको आदर्श हो ।”
वर्तमान सरकारको पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्षका रुपमा उल्लेख गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले गत वर्षलाई आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्षका रुपमा लिइएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “आज गरिने काम भविष्यका लागि आधार हो, राजनीतिक स्थिरतालाई मैले समृद्धितर्फको यात्राका लागि एउटा आधार मानेको छु ।” मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेले नै खै घर बनाएको भनेर गरिएका प्रश्नलाई अहिले सामना गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । “जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खैत चोटा कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? अहिले हामीले यस्तै प्रश्नको सामना गरिरहेका छौ”, उहाँले भन्नुभयो ।