सरकार आफ्नै कमजोरीले गलेको छ: देउवा

0
674

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार आफ्नै कमी कमजोरीले गल्न लागेकोे बताएका छन्।

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै उनले भने, ‘ओली सरकार कामभन्दा बढि भाषणमा मात्र केन्द्रित रहेर आफ्नो कमजोरी ढाकछोप गर्न प्रतिपक्षी दललाई गाली गर्नमा मात्रै व्यस्त छ।’

प्रदेश २ को प्रमुख व्यापारिक केन्द्र वीरगन्ज महानगरपालिकामा बुधबार होटल दियालो एण्ड लर्डस् प्लाजाको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले संघीय समाजवादी फोरम नेपालको पनि आलोचना गरे। ‘संघीय र प्रदेश दुवै सरकारमा फोरम नेपाल छ, सत्ताको स्वाद लिइ रहनुभएको छ,’ उनले भने, ‘सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन तर सत्तारुढ दलहरु कांग्रेसले यो गरेन त्यो गरेन भनेर गाली गर्नमा मात्रै व्यस्त छन्।’

कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसले आफ्नो गल्ती कमजोरी सुधार्नुपर्ने सुझाव दिएपछि आक्रोशित बनेका सभापति देउवाले त्यस्तो जवाफ दिएका हुन्। मुख्यमन्त्री राउतको अभिव्याक्तिप्रति लक्षित गर्दै देउवाले भने, ‘दुई तिहाइको सरकारको दम्भ र अधिनायकवादका कारण लोकतन्त्र अहिले खतरामा परेको छ। खतरामा परेको लोकतन्त्रलाई जोगाउन जस्तोसुकै संघर्ष गर्न परे पनि कांग्रेस तयार छ।’

प्रजातन्त्र र लोकतन्त्रका लागि कांग्रेस २००७ साल देखि नै लड्दै आएको बताउँदै देउवाले लोकतन्त्र र प्रजातन्त्र भनेको कांग्रेसका लागि जीवनमरणको सवाल भएको बताए। उनले भने, ‘लोकतन्त्रमाथि कहिकतैबाट हस्तक्षेप वा आक्रमण भयो भने कांग्रेस कुनै पनि हालतमा चुप लागेर बस्न सक्दैन।’

का‌ंग्रेसले गल्ती र कमजोरी सुधार्नुपर्छ: मुख्यमन्त्री राउत

होटल उद्घाटन कार्यक्रममा नै प्रदेश २ का मुख्यमन्त्री राउतले  कांग्रेसलाई आफ्ना विगतका गल्ती कमजोरी सुधार गर्दै लैजान सुझाव दिएका थिए। मुख्यमन्त्री राउतले भने, ‘कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै पनि शक्तिले रोक्न सक्दैन, तर काँग्रेसले विगतका आफ्ना गल्ती र कमजोरीहरु सुधार्नुपर्छ।’

मुख्यमन्त्री राउतले आफूलाई देशको ठेकेदार ठान्नेहरुले संविधान कार्यान्वयनमा बेइमानी गरिरहेको आरोप पनि लगाए। उनले भने, ‘यदि उनीहरुको रवैया यस्तै रह्यो भने मुलुक फेरी ठूलो द्वन्द्वमा फस्ने निश्चित छ।’

प्रदेश २ को विकास र समृद्धिका मुख्य तीन आधार उद्योग, व्यापार, कृषि र पर्यटन रहेको भन्दै मुख्यमन्त्री राउतले यी तीन क्षेत्रको उचित व्यवस्थापन गरेर लगानीकर्ताहरुलाई आकर्षित गर्न सके प्रदेश २ मुलुककै एक नम्बर प्रदेश बन्ने दाबी गरे।