लमजुङको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा यस वर्ष १ हजार ५ सय बढीले ठाडो बत्ति बालेका छन् ।
इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीका अनुसार गएको वर्ष मन्दिरमा हजार जनाले ठाडो बत्ती बालेका थिए । करिब ६ सय वर्षअघि मन्दिरको निर्माण भएको स्थानीय बासिन्दा बताउँछन् । विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरेका थिए । त्यसबेलादेखि नै भक्तजनले पूजा गर्दै आएको समितिका अध्यक्ष शास्त्रीले बताए ।
प्राचीन कालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भएको र सोही ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा आई रातभर ठाडो बत्ति बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए । मन्दिरमा वैशाख, साउन र कात्तिक महिनामा पनि दर्शनका लागि भक्तजन आउने गरेका छन् ।
प्रत्येक वर्ष महाशिवरात्रि पर्वमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिर क्षेत्र विकास समितिका सचिवालय सचिव दिव्य चन्द्र सोतीले बताए । उनले भने, ‘शिवरात्रिमा ठाडो बत्ति बाले सन्तान प्राप्ति हुने विश्वासका साथ भक्तजनहरु आउने गरेका हुन् ।’
मध्य नेपाल नगरपालिका–७, करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर शिवरात्रिको दिन धेरै भक्तजनको घुइँचो लाग्ने तीर्थस्थलका रुपमा परिचित छ । इशानेश्वर महादेवको दर्शन गरी पूजा गरे सन्तान प्राप्त हुने विश्वास गरिदै आएको । अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्याया धेरै रहेको समितिले जनाएको छ ।