सरिता तिम्सिना पगेनी
कास्की । अगाडि पुग्दा बोल्छु भनेर गएको कुरा पनि बिर्सन्थे ,हात त्यसै काम्थ्यो । अनुहारै रातो हुने ,मुटुको धड्कन बढे जस्तो हुने । कास्कीको अन्नपुर्ण गाउँपालिकाकी साबित्री अधिकारीले यसो भन्दै गर्दा उद्घोषण कला तालिममा सहभागी अन्य महिलाले उनकै कुरामा सहि थाप्दै हो मा हो मिलाए ।
आमा समुह मार्फत सामाजिक अभियान्ता बनेको पनि २० बर्ष नाघिसक्यो साबित्रीको । गाउँपालिकाका बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध अधिकारीलाई अहिले सम्म न त कसैले माईक समाउन सिकाए न त माईकमा बोल्ने तरिका नै ।सार्बजनिक सभा समारोहमा एक त महिलालाई बोल्ने अवसर नै दिईदैन ,दिईहाले पनि अबस्था चाहि अन्नपुर्ण गाउँपालिकाकी साबित्री अधिकारीको जस्तो हुने गर्दछ । । सम्बोधन र भाषणकलाको ज्ञान नहुदा समाजका अगुवा महिलाहरु समस्यामा पर्ने गरेका छन।
अन्नपुर्ण गाउँपालिकाका ११ वटै वडामा महिलाहरुका बिभिन्न समुहहरु गठन गरिएका छन ।समुह गठन मात्रै गर्ने तर समुहका पदाधिकारी , सदस्यहरुको क्षमता अभिबृद्धि नगरीएका कारण महिलाहरु समस्यामा पर्ने गरेको महिला अधिकारकर्मी राधा कुवँरले बताईन ।
अन्नपुर्ण गाउँपालिका कास्कीको आर्थिक बर्ष २०७५÷०७६ को वार्षिक स्वीकृत बजेट कार्यक्रम अनुसार यतिबेला गाउँपालिकाका ११ वटै वडामा उद्घोषण कला, कानुनी सचेतना एबं क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ ।
समाजका अगुवा महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले गाउँपालिकाका ११ वटै वडामा क्षमता अभिबृद्धि तालिम संचालन गरिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले बताए । जबसम्म महिलाहरुलाई क्षमतावान बनाइदैन तबसम्म समाज बिकास गर्न गाह्रो हँुदोरहेछ अध्यक्ष कुवँरले पोखरा पोष्ट संगको कुराकानीमा भने अब भने महिलाहरुले समाज बिकासमा अगुवाई गर्ने छन भन्नेमा म ढुक्क छु । तालिम प्रशिक्षक सरिता तिम्सिना पगेनीले महिलाहरुलाई कुनै पदमा लगेर राखिदिदैमा उनको सशत्तिकरण नहुने भन्दै महिलाहरुको राजनितिक ,बौद्धिक ,आर्थिक क्षमता अभिबृद्धि गर्न बिभिन्न प्रकारका तालिमहरु आबश्यक पर्ने बताइन ।
हिजो सम्म माईकमा बोल्न डराउने हामी तालिम पश्चात् निर्धक्क संग बोल्न सक्ने भएका छौ तालिमका एक सहभागी अन्नपुर्ण गाँउपालिका वडा नम्बर ४ की धनमाया बिकले भनिन , गाउँमा गठन गरिने शिक्षा,स्वास्थ समितिका साथै बिभिन्न उपभोक्ता समितिको नेतृत्व गर्न समेत हामीहरु सक्षम भएका छौ ।