नयाँ बर्ष संगै पोखराका बसमा स्मार्ट कार्ड मार्फत भाडा तिरेर यात्रा गर्न पाइने भएको छ । पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र काठमाण्डौंको एनक्लाउड कम्पनी बीच भएको सम्झौता अनुसार पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको हो । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए ।
यो प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछ । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ । मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खचृ लिनेछ ।
कार्डलाई १ सय ५० रुपैयाँ पर्ने र एक पटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने श्रेष्ठले जानकारी दिए ।
शुरुमा ८ सय वटा गाडीमा सिस्टम जडान गरेर सोही अनुसार कार्ड वितरण गर्ने र आवश्यक्ता अनुसार यसलाई विस्तार गर्न सकिने पनि श्रेष्ठले जानकारी दिए ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले यो सिस्टम लागु भएपछि यात्रुहरुको भाडामा ठगिएको गुनासो पनि सुन्न नर्पेने बिश्वास ब्यक्त गरे ।
तत्काल पोखरा नगरभित्रका गाडीमा जडान गर्ने र पछि लामो दुरीका गाडीमा पनि यो सिस्टममा लैजाने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । ‘यात्रु ठगिने सम्भावना र मालिक नोक्सानमा पनि नर्पने हुँदा यो सिस्टम राम्रो रहेको उनको भनाई छ । ।पोखराका पृथ्वी बस समिति , पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जान तयार भएका छन् ।