कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा

0
1899

 

‘जनता जान्न चाहन्छ’ भन्ने वाक्य अंश बाट सुरु हुने धमला पत्रकारिता पुरुष/महिलाको निजि जीवन संग सम्बन्धित कुराको पर्दाफाश मा गएर टुंगिन्छ। यस बाट नेपाली पत्रकारिताको क्षेत्र कता जादैँ छ सहजै अनुमान गर्न सकिन्छ। उक्त अवस्थामा सहि, सत्य र सान्दर्भिक कुरा जान्न सामाजिक संजाल को उदय हुनु स्वाभाविक हो। केहि समय अगाडी सूचनाको लागि मेडिया को एक छत्र राज जस्तो थियो तर सामाजिक संजालको बिकाश संगै त्यो क्षेत्रको एकाधिकार विभाजित हुन पुगेको छ। सामाजिक संजालका आफ्नै फाइदा तथा बेफाइदा छन् तर पनि यहाँ धेरैको धारण र सोच पहिचान गर्न पाइने भएको कारण लोकप्रिय हुदैँ गएको छ। आज भोलि सामाजिक संजालमा एउटा भिडियो एकदम भाइरल भएको छ; एक भारतीय मूलका सशक्त वक्ता डा. विवेक विन्द्रा नेपालको बारेमा बोलेको देख्न सकिन्छ। वाल्यकालमा धेरै दुख का साथ हुर्केका उनि जीवनमा बुवा, आमाको माया बाट वन्चित भएका थिए।  सन् २०१२ पश्चात अंग्रेजी मात्र नभई हिन्दीमा समेत प्रेरणादायी भिडियो बनाउने उनि ठुला- ठुला राष्ट्रिय र अन्तरास्ट्रिय कम्पनीको बिजनेस केस बनाए पछि यु टियुबमा पनि लोकप्रिय भएका थिए।

उनको नेपाल सम्बन्धि विश्लेषण गरेको भिडिओ हेर्दा गहिरो अनुसन्धानको कमि प्रस्टै देख्न सकिन्छ।  नेपालीहरु जस्तो निम्न  अवस्था बाट माथि उठेका छन् त्यसको समग्र प्रगति हेर्दा धेरै नै भएको पाइन्छ ।  नेपाललाई इस्ट इंडिया कम्पनीले आर्थिक अवस्था कमजोर भएकै कारण अधिग्रहण नगरेको दाबी गर्ने उनि नेपालले आफ्नो चरम बिद्रोही पक्ष माओबादीलाई शान्ति प्रक्रियाको मुलधारमा ल्याउन सफल भएको कुरा पूर्ण रुप मा नकारेका छन्।  जुन विश्वले  लग-भग असम्भव जस्तो मानेको थियो। नेपालको बिकाश अहिलेको अवस्था सम्म आउनुमा शान्ति सम्झौताको ठुलो लगानी छ।उनको भिडिओमा त्यसको जिकिर गरेको कतै पनि देखिदैन।

विश्वमा धेरै जस्तो परिवर्तन युद्दबाट नै भएको छ र नेपाल पनि त्यसको प्रत्यक्ष उदाहरण हो। युद्ध त भारत र पाकिस्तान बीचमा पनि भएकै हो तर पनि त्यसको दिर्घकालिन समाधान वार्ता को माध्यम बाट नै भएको छ। त्यस्तै नेपालले पनि जनता को स्वाभिमान र आधारभूत स्वतन्त्रता निम्ति धेरै युद्ध गरेको छ जसको कारण देशले आर्थिक बिकाशमा अपेक्षाकृत गति लिन सकेको छैन। अब यसको दोष नेपाल र नेपालीलाई पक्कै दिन मिल्दैन किनकि जब सम्म देश नैतिक रुपले स्वतन्त्र हुदैन तब सम्म आर्थिक बिकाशको कुनै महत्व हुदैन त्यो त भारतमा इस्ट इंडिया कम्पनीले आफ्नो स्वार्थका निम्ति गरेको चुट्के बिकाश जस्तो हुन जान्छ।

सन् २०१८ को अनलाइन सूचनालाई आधार मान्ने हो भने भारत को कुल ग्राह्यस्थ उत्पादन $२.८४८ ट्रिलल्यिन छ भने ऑस्ट्रेलियाको $१.५३० ट्रिलल्यिन छ। तुलनात्मक रुप मा भन्नु पर्दा भारतको कुल ग्राह्यस्थ उत्पादन(GDP) र कुल राष्ट्रिय उत्पादन(GNP) अस्ट्रेलियाको भन्दा बढी देखिन्छ अब यसको मतलब भारतीय नागरिकको प्रति व्यक्ति आम्दानी अस्ट्रेलियन नागरिक भन्दा बढी छ भन्न मिल्दैन किनकि भारत को जनसंख्या अस्ट्रेलिया को भन्दा बढी छ। त्यसकारण पनि तुलना भनेको समान स्तर को जनसंख्या र आय भएको राष्ट्र बीच हुनु पर्छ। नेपालको पनि तुलना अमेरिका तथा युरोपका बिकशित राष्ट्र संग गर्न मिल्दैन। यसको तुलना त एशिया र सार्कका बिकशिल राष्ट्र संग मात्रै गर्दा सहि मुल्यांकन हुन्छ।

निरङ्कुश शासनकाल र अन्तरिक गृहयुद्धको कारण थला-थला परेको अर्थतन्त्र बिस्तारै उठ्ने क्रम मै थियो कि अचानक २०७२ को महामारी भुकम्प तथा भारतको अघोषित नाकावन्दी को सामना गर्नु पर्यो जसको कारण गरिब झन् गरिब हुने अवस्था आयो। द्वन्द पिडित हुनु को घाउ त थियो नै , भुकम्प र नाकावन्दी को पिडा पनि थपियो जसको फल स्वरूप देश को अर्थतन्त्र मा महंगी चुलिन पुग्यो। सन् २०७२ को राष्ट्रिय सूचनालाई आधार मान्ने हो भने मुद्रास्फ्रिदी सन् २०६८ कै यता सबै भन्दा बढी ९.९३% सम्म पुगेको थियो । सामान्यता चुलिएको मुद्रा दर स्थिर अवस्था आउन केहि ठोस निम्न र मध्य कालिन योजनाहरु को आवश्यकता पर्दछ। ति योजनाहरु लागु नहुनु मा , धेरै कारण मध्ये अस्थिर राजनीति पनि एउटा प्रमुख कारण होला तर सबै त्यही कारण मात्रै पनि होइन। नेपाल बिकाश नहुनुमा भारतको पनि निहित स्वार्थ जोडिएको कुरा समय-समयमा संचार माध्यममा छताछुल्ल हुने गरेको छ। २०४५ साल को नाकावन्दी, गण्डक सम्झौता, तराई राजनीति, खुल्ला सिमाना यसका ज्वलन्त उदाहरण हुन्।

भूपरिवेष्ठित राष्ट्र नेपाल बिकाश नहुनु मा नेपाली जनता र राजनीति लाई मात्र दोष थुपार्नु न्याय चित हुदैन । डा. विवेक विन्द्राको भिडिओ छोटो समयमा थोरै अध्ययन गरेर तयार पारेको देखिन्छ। यदि उनले नेपाल राष्ट्रको प्रगति को तुलना गर्नु थियो भने २०७२ साल पछि , अहिले २०७५ साल सम्म को आर्थिक प्रतिवेदन लाई आधार मानेर तुलना गर्न पनि सकिने थियो। नेपाल जस्तो सार्वभौमसत्ता सम्पन्न राष्ट्र को बारेमा निचोड निकाल्न भन्दा पहिले आफ्नो सस्तो लोकप्रियता र अपूर्ण बिज्ञता को पनि ख्याल गरेको भए कति राम्रो हुने थियो।

द्वन्द कालको अवस्था मा द्वन्दको अन्त्य र द्वन्द पिडित को मुद्धा समाधान को निम्ति २००१ देखि २०१८ सम्म, १७ बर्ष मा १७ प्रधानमन्त्री परिबर्तन भएका थिए। त्यो काल नेपाली राजनीति को लागि अध्यारो चक्रव्यु सरह थियो। २०५७-२०६२ सम्म देश गम्भीर द्वन्दमा थियो। त्यो समय देशले आर्थिक क्रान्ति भन्दा पनि आफ्नो आत्मा रक्षा का निम्ति धेरै धनराशी द्वन्दको दमन मै नाश गर्नु परेको थियो। त्यो समय भएको अस्थिर राजनीति र ठप्प भएका बिकाश निर्माण का कार्यक्रम , शान्ति सम्झौता पछि मात्रै पुन निर्माण सुरु भएको थियो। त्यति मात्रै कहाँ हो र हतियार व्यवस्थापन र क्षतिपूर्ति को जोखिम पूर्ण काम समेत गर्नु थियो। यस्तो अवस्थामा बिकाश निर्माण प्राथमिकता मा नपर्नु नौलो बिषय थिएन।

बिन्द्राले आफ्नो भिडिओमा नेपालमा कुनै खानी, जडिबुटी नभएको जिकिर गरेका छन् जबकी चिन को अनुसन्धान भन्छ नेपाल सुन खानी मा सुतेको छ र पतंजली योगपीठ का आयुर्वेदाचार्य बाल कृष्ण भन्छन नेपालमा प्रयाप्त औषधीय बृक्ष र जडिबुटी छन्। यदि यसको सदुपयोग गरेमा नेपाललाई प्रशस्त आम्दानी हुने पक्का छ। समग्रमा भन्नु पर्दा बिन्द्राको   भिडिओमा ब्यक्त गरिएका धेरै कुरा हरु तथ्य परक छैनन्। यस्ता गतिबिधिले राष्ट्रको छबि बिगार्ने निश्चित छ यस कुरा लाई समय मै सोच्ने कि ?

      (लेखक पोखरा बिश्वबिध्यालय,व्यवस्थापन संकायमा उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ)