मुलुकभर १६७ लैङ्गिक हिंसाका घटना

0
769

 

 

काठमाडौँ, गत फागुनमा मुलुकभर १६७ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले विभिन्न सञ्चारमाध्यमबाट प्राप्त तथ्याङ्कका आधारमा सो अभिलेख गरी आज फागुनको मासिक प्रतिवदेन सार्वजनिक गरेको छ । प्राप्त तथ्याङ्कअनुसार ६९ घरेलु हिंसाका घटना रहेका छन् भने घरेलु हिंसा गर्नेमा ५२ जना श्रीमान् र १७ परिवारका अन्य सदस्य रहेका छन् ।

त्यस्तै ४२ पुरुषद्वारा यौन हिंसा भएको छ । यौन हिंसा गर्नेमा १६ जना छिमेकी, आठ जना महिलाले आत्मीय ठानेका पुरुष, सात कुनै पनि सम्बन्ध नभएका अञ्जान पुरुष, पाँच शिक्षक, तीन साथी, दुई श्रीमान् र एक परिवारका सदस्य रहेको ओरेकले जनाएको छ ।

त्यस्तै गरी १५ महिलामाथि बोक्सीको आरोपमा कुटपीट, मानसिक यातना, चारित्रिक आरोप लगाई सामाजिक हिंसा भएको, १५ बालविवाह, नौको हत्या भएको, एकको हत्या प्रयास, परिवारको स्रोतअनुसार लैङ्गिक विभेदका कारण आठ जनाले आत्महत्या गरेको जनाइएको छ । त्यस्तै तीन जना महिला बेचबिखनमा परेको, दुई जनामा अनलाइनमार्फत हिंसा भएको, दुई अलपत्र फेला परेको र एक बेपत्ता भएको तथ्याङ्क प्राप्त भएको छ ।

हिंसामा संलग्न पुरुषको उमेर हेर्दा २६ देखि ३५ वर्ष उमेर समूहका ३१ प्रतिशत, १७ देखि २५ वर्ष उमेर समूहका २१ प्रतिशत, ३५ देखि ४५ वर्ष उमेर समूहका १६ प्रतिशत, ४६ वर्षभन्दामाथिका नौ प्रतिशत, १६ वर्षभन्दा कम उमेर समूहका एक प्रतिशत र उमेर समूह पहिचान नभएका २२ प्रतिशत पुरुष हिंसामा संलग्न भएको पाइएको छ ।