गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पोखरामा शुरु

0
600

 

पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रेससँग सरोकार राख्ने कानूनहरू निर्माण गर्दा पत्रकार महासंघसँग आवश्यक छलफल गरेर मात्रै अघि बढ्ने   मन्त्री चुमानले  बताउनुभयो । संघीयताको वास्तविक कार्यान्वयनमा प्रेस जगतले प्रदेश सरकारलाई सघाउन आग्रह गर्दै उहाँले सिर्जनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी र सचेत गराउन संचारकर्मीलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेसविरोधी कानून निर्माणमा सरकार लागेको  हो कि भन्ने आशंका बढेको भन्दै प्रेससँग साइनो नै नभएको कानून लगाएर पत्रकारलाई हत्कडी लगाउनु लोकतन्त्र र संविधानविपरीत भएको बताउनुभयो । पत्रकारले पनि सोच्नुपर्ने बेला आएको भन्दै उहाँले प्रेस स्वतन्त्रताका लागि पत्रकार सडकमै ओर्लनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको उल्लेख गर्नुभयो । रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कारका संरक्षक पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले पर्यटन र समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भनाइ राख्नुभयो । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सभाहलमा शनिबारसम्म चल्ने मिडिया सम्मेलनको पहिलो दिन समृद्धि र पत्रकारिता तथा समावेशिता र पत्रकारिताबारे छलफल भयो । छलफलको पहिलो सत्रमा पत्रकार वासुदेव मिश्रले गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग छलफल गर्नुभयो । छलफलमा योजना आयोगका उपाध्यक्ष डा। शर्माले मिडियामा विकासका समाचारले प्राथमिकता पाउन नसकेको बताउनुभयो । त्यस्तै, महासंघका पूर्वअध्यक्ष मुल्मीले नागरिक स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता जगतको महत्त्वपूर्ण भूमिका रहेको भनाइ राख्नुभयो । त्यसैगरी, छलफलको दोस्रो सत्रमा पत्रकार जमुना वर्षा शर्माले समावेशिता र पत्रकारिताबारे नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र लेखक सावित्री गौतमसँग छलफल गर्नुभयो । महासंघका पूर्वअध्यक्ष गाउँलेले पत्रकारितामा पनि देशको वास्तविक तस्वीर झल्किनुपर्ने भनाइ राख्नुभयो । लेखक गौतमले शारीरिक उपस्थितिले मात्रै समावेशी नहुने भन्दै विषयवस्तुमा समावेशिता आवश्यक भएको धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारिताप्रति आम नागरिक र राज्यको अपेक्षा एवं आम नागरिक र राज्यबाट पत्रकारिता क्षेत्रको अपेक्षाबारे छलफल गर्न मिडिया सम्मेलन आयोजना गरिएको बताउनुभयो । मिडिया सम्मेलनमा पत्रकार र सहभागीहरुबीच अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष नारायण शर्मा र महासचिव गणेश पौडेलले पनि बोल्नुभएको थियो ।