मिडिया काउन्सिल विधेयकका प्रावधानमा बिरोध, पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

0
986

 काठमाडौं। नेपाल सरकारले नियन्त्रित गर्ने अभिप्रायले मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। महासंघले आजबाट घोषणा गरेको आन्दोलका कार्यक्रमहरुमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल, संसदका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ज्ञापनपत्र बुझाइने, संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल, कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने, महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने र जेठ ३ गते काठमाडौंमा संसद बाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने लगायतका रहेका छन् । महासंघका अनुसार महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै संसदमा दर्ता गरिएको उक्त विधेयकका कतिपय प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्ने अभिप्रायले ल्याइएको बताएको छ। साथै यस विधेयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने समेत महासंघका महासचिव रमेश बिष्टद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ। बिज्ञप्तीमा भनिएको छ महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग समेत गरेको छ।