विश्व हिन्दु महासंघको र्‍यालीमा प्रहरी हस्तक्षेप

0
1059

पोखरा ।   विश्व हिन्दु महासंघ नेपालले शुक्रबार पोखरामा  निकालेको मोटर साइकल  र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।  प्रहरी टोलीले मोटरसाइकल  र्‍यालीलाई सिद्धार्थचोक र महेन्द्रपुलतर्फ जान रोकेको थियो । प्रहरीले अवरोध गरेपछि  र्‍यालीले पोखरा महानगरको पुरै भागको परिक्रमा गर्न नपाएको  संयोजक अशीलकुमार शाहीले पोखरा पोष्टलाई बताए । उनका अनुसार प्रहरीको अवरोधपछि चिप्लेढुंगा मानवअधिकारचोकबाट सिद्धार्थचोक हुँदै जाने  र्‍याली पोखरा सभागृहमा पुगी समापन भएको हो ।  महासंघको शनिबारदेखि पोखरामा सुरु हुने सातौ राष्ट्रिय महासभा  तथा विशाल धार्मिक सभाको प्रचारका लागि शान्तिपूर्ण मोटर साइकल  र्‍याली निकालिएको शाहीले बताए  ।

यसै बिच  प्रहरी हस्तक्षेपको विरोधमा विश्व हिन्दु महासंघमा आबद्ध ब्यक्तिहरुले  जिल्ला  प्रशासन कार्यालय कास्कीको गेटमा  डेढ घन्टा धर्ना दिए ।
बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्नाको क्रममा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले अबदेखि कुनै पनि समूहलाई मोटर साइकल र्‍याली  निकाल्न नदिने प्रतिबद्धता जनाएपछि १ बजे गर्ने भनिएको धर्नालाई स्थगित गरिएको बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले  बताए ।