स्व कमल पंगेनीलाई यसरी सम्झिन महिला संघकी नेता सरस्वती अर्यालले

0
640

सरस्वती अर्याल, तिवारी

नेपाली काँग्रेसका नेता, स्याङ्जा जिल्ला पार्टी सभापति, संविधान सभाका सदस्य स्व. कमलप्रसाद पंगेनीको असमायिक स्वर्गारोहण भएको वर्ष दिन भयो । उहाँलाई मैले एउटा जुझारु, हक्की, मिलनसार र आफूलाई लागेका कुरा स्पष्टसँग बोल्ने एक कुशल संगठकको रुपमा चिनेको हुँ । उहाँ र मेरो अन्तरंग सम्बन्ध एउटा परिवार भन्दा फरक थिएन । उहाँले मलाई प्रेमभावले वहिनी भनेर सम्बोधन गर्नुहुन्थ्यो । प्रजातान्त्रिक आनदोलनका सहयात्रीका रुपमा मात्र होईन, नयाँ पुस्ताका आत्मिय दाजूको रुपमा पनि उहाँ मेरो हृदयमा बस्नुभएको छ ।

सरल स्वभाव र स्पष्ट विचारका धनी कमलप्रसाद पंगेनी सबैसँग राम्रो व्यवहार गर्ने र हाँसी हाँसी बोल्ने भएकोले मानिसहरु उहाँसँग चाँडै प्रभावित हुन्थे । जीवन भनेको नै संघर्ष हो भन्ने विश्वास उहाँमा थियो । जनताको प्रजातान्त्रिक हकहितका लागि अनवरत संघर्ष गरेर चर्चाको शिखरमा पुग्नुभएका पंगेनी प्रजातन्त्रप्रेमी कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत सुखसुविधा, घरपरिवार भन्दा कार्यकर्ताको माझमा रमाउने भएकाले सधै नै धनको अभाव भएको देखिन्थ्यो ।

हसिलो अनुहार लिएर कोट पाइन्ट, कालो जुत्तामा जनताको माझ देखा पर्ने कमल पंगेनी अब सदाका लागि जानुभएको छ । अनुहारले हँसिलो मात्र होईन, पवित्र हिमाल जस्तै स्वच्छ र सफा भावना थिए उहाँका आत्मा भित्र । दयालु स्वभावले गर्दा कार्यकर्ताका समस्या टार्न पनि अनेक उपाय गर्नुहुन्थ्यो ।

महामानव वि.पी. कोईरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको अनुयायी कमल पंगेनीले दिनुभएको योगदान अविस्मरणीय रहेको छ । वि.पी. को विचारलाई व्यवहारमा परिणत गर्न सक्यौँ भने सिँगो मुलुकको भलाई हुन्छ भन्ने उहाँको विचार थियो । दिनरात नभनी संगठनमा व्यस्त रहने परिश्रमी, ईमानदार, लगनशील व्यक्तित्वका धनी कमल पंगेनी आफ्नो राजनितिक संगठन वलियो बनाउन स्याङ्जाका गाऊँगाऊँका युवा युवतिहरुलाई प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल हुनुको लागि सदा उत्प्रेरित गर्नुहुन्थ्यो ।

सादा जीवन र उच्च विचारका धनी कमल पंगेनी विशेषत : स्याङ्जाको राजनितिमा कृयाशिल हुनुहन्थ्यो । साधारण कार्यकर्ता, पार्टी सभापति बनेर सँविधान सभाका सदस्य हुँदासम्म उहाँको व्यवहारमा कुनै परिवर्तन देखिदैनथ्यो । उहाँको राजनीतिक प्रभाव केवल स्याङ्जामा मात्र होईन राष्ट्रव्यापी रुपमा समेत राम्रो थियो । उहाँ ७५ वटै जिल्ला सभापति मध्ये एक नमूना सभापति हुनुहुन्थ्यो ।

कर्तव्य निर्वाहकै क्रममा २०७५।०४।२० गते विहान उहाँ अब कहिल्यै नफर्कने गरी विदा हुनभयो । यसरी कमल पंगेनी दाईको निधनले एक छोरा, एक छोरी मात्र टुहुरा भएनन्, नेपाली काँग्रेस स्याङ्जाले जनताको प्यारो नेता गुमाउनु प¥यो र अपुरणीय क्षति बेहोर्नुपरेको छ ।
कमलप्रसाद पंगेनी दाई अहिले पनि हाम्रो मानसपटलमा रहनुभएको छ र सदा रहिरहनु हुनेछ । उहाँका अर्ति उपदेश र विचारलाई आत्मसात गर्दै अगाडि बढ्न सके मात्र कांग्रेसको संगठन बलियो हुनुका साथै कमल दाई प्रतिको उचित सम्मान हुनेछ भन्ने मैले ठानेकी छु । स्वर्गीय कमल दाई प्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दछु ।

लेखक महासमिति सदस्य एवं नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष हुन् ।