पोखरा महानगरपालिका वडा नं ६ बैदाम र उक्त वडामा अवस्थित ताल बाराही माध्यमिक बिधालयलाई नेपाल विद्यार्थी संघ कास्की पोखरा महानगर वडा इकाई ६ बैदामले भदौ २३ गते ज्ञापन पत्र बुझाएको छ। ने.बि संघ वडा इकाई सभापति बिष्णु पहारी, ने.बि संघ कास्कीका नि बर्तमान सभापति बिकास थापा, ने.बि संघ कास्कीका नेता सन्तोष पौडेल, डिफान भुजेल लगायतका विद्यार्थी नेताहरु, नेपाली कांग्रेस कास्कीका आमन्त्रित जिल्ला सदस्य लक्ष्मण पहारी र नेपाली कांग्रेस वडा इकाई बैदामका सभापति बलराम गिरी लगायतको टोलि वडा कार्यालय र ताल बाराही मा.बि पुगेर ज्ञापन पत्र बुझाएको हो।
गण्डकी छड्के टि.भि कार्यक्रमले केही दिन पहिले ताल बाराही मा.बि.मा गरेको छड्के र बिधालयसंग आवद्ध ब्यक्तिहरुको गुनासोलाई नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गरेर उक्त पत्र बिधालयकी प्राध्यापक भद्रकाली लामीछानेलाई स्पष्टीकरण माग्दै तिन दिने अल्टिमेटम दिएर बुझाएको छ। त्यस्तै बिधालयमा भएका विभिन्न विवादित कार्यमा संलग्न भएका ब्यक्तिलाई निष्पक्ष छानबिन गरि कडा कारबाहीको माग गर्दै वडा अध्यक्षलाई पनि ज्ञापन पत्र बुझाएको हो। पत्र दिइएको तिन दिन बित्दा पनि बिधालयले कुनै स्पष्टीकरण ने.बि संघलाई दिन नसके ने.बि संघ आन्दोलनको मैदानमा उत्रने जानकारी गराउंदै उक्त ज्ञापन पत्र हस्तान्तरण गरिएको ने.बि संघ कास्कीका नेता बिपिन पौडेलले हामीलाई जानकारी गराउनु भयो।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै ने.बि संघ वडा इकाई ६ का सभापति बिष्णु पहारीले ताल बाराही मा.बि.कसैको निजि सम्पत्ति नभएकाले आफ्नो फाइदाका लागि कोहि कसैले केही कार्य गर्छ भने त्यसलाई ने.बि संघले कडा कारबाही गर्ने जनाउनु भयो। त्यसतै ने.बि संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले ताल बाराही मा.बि.मा धेरै बैदामबासीका बुवा दाजु भाइहरु पढ्नु भएको र बैदाममा अवस्थित भएकाले उक्त बिधालय सम्पुर्ण बैदामबासीको साझा सम्पत्ति भएकाले आफ्नो ब्यक्तिगत स्वार्थ र राजनीतिक फाइदाका लागि बिधालयमा यदि बिधालयकी प्राध्यापक र बिधालय ब्यवस्थापन समितिका कुनै पनि ब्यक्तिको नेतृत्व र सहयोगमा बिधालयलाई नोक्सान भएको भए तुरुन्तै उक्त ब्यक्तिलाई राजीनामा दिन माग गर्दै कडा कारबाही गर्न सम्पुर्ण बैदामबासी लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
नेपाली कांग्रेस पोखरा महानगर वडा इकाई ६ बैदामका सभापतिले उक्त ज्ञापन पत्रमा बैदाम कांग्रेसको पुरै समर्थन रहेको र बैदाम कांग्रेस ने.बि संघ बैदामलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको जनाउनु भयो। यस्तै सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा ने.बि संघका नेता सन्तोष पौडेल र नेपाली कांग्रेस कास्कीका आमन्त्रित जिल्ला सदस्य लक्ष्मण पहारी आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए।