वडा वडामा राप्रपाको चुनावी अभियान

0
747

सूर्य बाँस्तोला
पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र बनाएको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको छ ।
जस अन्तर्गत पोखरा ८ मा सोमवार प्रचार प्रसार अभियान गरिएको छ । वडामा प्रदेशका अध्यक्ष हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरु जयलाल पुन, कुल बहादुर गुरुङ कुलु, शिव प्रसाद चालिसे, बरुण बिक्रम राणा, नारायण गुरुङ, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, प्रदेशका नेता, जिल्ला स्थित नेता सहितको घरदैलो अभियान सम्पन्न गरिएको राप्रपाका प्रचार प्रसार समिति संयोजक सूर्य बास्तोलाले बताउनुभयो ।
घरदैलो कार्यक्रममा बोल्दै राष्ट्रवादी उम्मेदवार रोम बहादुर भण्डारीले नेपालको अस्तित्व बचाउनको लागि राप्रपालाई मत दिन आग्रह गर्नुभयो । म लिन होइन दिन आएको कुरा बताउँदै भण्डारीले मंसिर १४ मा हुने उपनिर्वाचनमा आफूलाई मत दिई अत्यधिक मतले जिताउन मतदाताहरुलाई अपिल गर्नुभयो ।
घरदैलो कार्यक्रम सिद्धार्थचोक, बगालेटोल, सिमलचौर, सिर्जनाचोक, चालिसेचोक लगायतका ठाउँहरुमा गरिएको थियो । साथै वडा नं. ८ को चुनाव प्रचारप्रसार समितिको कार्यालय समेत उद्घाटन गरिएको थियो ।
मंगलबार पोखरा वडा नं. ७ को पृथ्वीचोकभित्रपट्टी चोरसाँघुबाट शुरु भई विभिन्न ठाउँमा घरदैलो तथा चुनावी कोणसभा हुने निर्वाचन समिति संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुनले बताउनुभयो । मंगलबारको घरदैलो कार्यक्रममा केन्द्रीय स्तरका नेता तथा पदाधिकारीहरुको उपस्थिति रहने राप्रपा कास्कीले जनाएको छ । राष्ट्रियता बचाउनका लागि राप्रपाको गाई चिन्हमा भोट गर्न समेत राप्रपा कास्कीले सम्पूर्ण क्षेत्र नं. २ का मतदाताहरुलाई आग्रह समेत गरेको छ ।
स्मरण रहोस् यसअघि वडा नं. १५, ९, २०, ४, ३३, २१ र १६ मा घरदैलो तथा चुनावी कोणसभाहरु भइसकेको छ