१६ औं लेखनाथ महोत्सव आउँदो पुस ३ देखि १५ गतेसम्म

१२ मंसिर २०७६, बिहीबार

कास्की । आउँदो पुस ३ देखि १५ गतेसम्म कास्कीको लेखनाथमा १६ औं संस्करणको लेखनाथ महोत्सव हुन भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको बुधबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘ लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ नारा दिइएको महोत्सब लेखनाथको तालचोक नजिकै प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
महोत्सवमा औद्योगिक उत्पादन तथा हस्तकलाका सामान र स्थानीय उत्पादनका सामग्रीको बिक्री, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, सांस्कृतिक कार्यक्रम महोत्सवका मुख्य आकर्षणका रुपमा रहेको संघका अध्यक्ष बलराम ढकालले पत्रकार सम्मेलनमा बताए। कलाकारले दैनिक रुपमा भिन्दाभिन्दै प्रस्तुति राख्ने छन् । बाल उद्यान, खाना महोत्सव, रत्यौली गीत प्रतियोगिता,लाइभ म्युजिक कन्सर्ट,गण्डकी तारा प्रतियोगिता , राष्ट्रिय लोक दोहोरी कार्यक्रममार्फत मनोरञ्जन लिन सकिनेछ । ३ सय ३६ स्टलका व्यावसायिक उत्पादनका सामग्री र स्थानीय उत्पादनका वस्तुको बजारीकरण गरिने संघका उपमहासचिव एवं महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिए ।
महोत्सवको पूर्वसन्ध्यामा पुस १ गते लेखनाथ उद्योगा बाण्ज्यि संघ ,कविशिरोमणि जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ लायन्सको संयुक्त आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय स्थलगत कवितालेखन तथा वाचन प्रतियोगिता ,२ गते राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा छनोट भएका उत्कृष्ट ७ जनाका कविता महोत्वमा वाचन गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजकको रुपमा एडभान्स ग्रुपको एड्भान्स सिमेन्ट रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महोत्सवको सहआयोजकका रुपमा रहेका छन् । संघले महोत्सवबाट प्राप्त आम्दानी प्रदर्शनी स्थल स्तरोन्नति,शिक्षा,स्वास्थ्य,कृषि र पर्यटन लगायतका सामाजिक काममा खर्चिने जनाएको छ ।नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास आयोजकले लिएको छ ।

Leave a Reply