सागमा महिला फुटबल : भोलि श्रीलंकासँग भिड्दै नेपाल

0
832

पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा फुटबल स्टेडिममा सुरु हुँदैछ । महिला फुटबलको उद्घाटन खेल आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने छ ।
साग अन्तर्गत नेपालले श्रीलंकासँग आमनेसामने हुन लागेको यो पहिलो पटक भने होइन । ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी २ देश परिचित प्रतिद्वन्द्वी बनेका छन् । तर, नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन ।
सागको १२ औं संस्करण भारतमा भएको थियो । भारतको भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन । बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
श्रीलंकापछि नेपाल मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ । सहभागी राष्ट्र थोरै र मैदानको अवस्थाका कारण पनि प्रत्येक खेलपछि १ दिन खेल रोकिएको छ । राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम मंसिर २३ गते फाइनलमा भिड्नेछन् । श्रीलंकासँग भिड्न नेपाली टोली तयार छ । पोखरा रंगशालास्थित फुटबल स्टेडियमसमेत प्रतियोगिता हुन तयार भइसकेको छ ।
नेपाली टिमका प्रशिक्षक हरि खड्का घरेलु मैदानमा जितेर इतिहास खडा गर्न चाहेको बताउँछन् । ‘यो चोटी हामीले कडा मेहेनत गरेका छौं । हामीसँग घरेलु मैदान पनि छ,’ उनले भने, ‘दुवै स्ट्रेन्थ मिलाएर टाइटलका लागि तयार छौं ।’ अघिल्ला संस्करणमा भारतले नेपाललाई रजतमा रोक्दै आएको छ ।
पोखरा रंगशालामा हुने साग महिला फुटबलका लागि खेलाडीसहित सागका लागि ३७ जना अफिसियल टोली नेपालको प्रतिनिधित्व गर्नेछन् । १३ औं साग महिला फुटबल प्रतियोगितामा गोल रक्षकका रुपमा एन्जिला तुम्बापो, अञ्जना रानामगर र उषानाथ छन् ।
डिफेन्डरमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना उभिनेछन् । मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, विमल चौधरी छन् । परवार्डको जिम्मा सावित्री भन्डारी, निरु थापा, अनिता केसीले सम्हाल्ने छन्