​मर्यादाको ख्याल गर्ने हो कि महाशय ?

0
909

दर्शन शर्मा
०७३ साल जेठ ३० गते उखर्माउलो गर्मीमा पनि काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिकले नयाँ शक्ति नेपालको बाक्लो ज्याकेट लगाएका थिए । त्यतिबेला पार्टी घोषणा गर्दा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सबैजसो दैनिक पत्रिकालाई ज्याकेट लगाइदिने पैसा कहाँबाट ल्याए भनेर प्रश्न गरिएको थियो । पत्रिकाले कुनै राजनीतिक पार्टीको ‘ज्याकेट’ लगाउन हुने कि नहुने भनेर बहस पनि भएको थियो । त्यो बहस केही दिन चल्यो अनि हरायो । बाबुराम भट्टराईको वैकल्पिक शक्ति बनाउने अभियान तीन वर्ष पनि चलेन । तिनै भट्टराईले ०७६ साल वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरे । अब न नयाँ शक्ति रह्यो, न त वैकल्पिक शक्ति नै बन्न सक्यो ।

पढाइमा सधैं फष्र्ट बाबुराम जहिले पनि राजनीतिमा सेकेण्ड भन्ने कहावत नै चल्यो । कहिले पनि उनी राजनीतिमा पहिले हुन सक्दैनन् भनेर ‘ठोकुवा’ नै गर्न थालियो । अब भट्टराई नेता छान्ने निर्णायक भएका छन् । एउटा टेलिभिजनले मंसिर २६ गते नयाँ रियालिटी टिभी शो ‘द लिडर’को घोषणा गरेको छ र भट्टराईलाई पाँचमध्ये एक निर्णायक बनाएको छ । दुई जना घोषणा हुन बाँकी छ । घोषित अर्का दुई निर्णायकमा एक पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वपत्रकार रवीन्द्र मिश्र छन् । ‘केही फरक र केही विशेष’ भनिए पनि नेपालको सन्दर्भमा नेता छान्ने रियालिटी शो यो पहिलो भने हैन । नौ वर्षअघि अर्थात् सन् २०१० मा पनि यस्तै खालको नेता छान्ने एउटा कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रसारण भएको थियो । तर, धाँधली भएको आरोप लागेपछि दाताले हात झिक्दा त्यो कार्यक्रमले नेता नै छान्न सकेन । त्यति मात्रै हैन टिभी टुडेमा यही प्रकृतिको कार्यक्रम चलिरहेको दाबी गरिएको छ ।

नवघोषित कार्यक्रम ‘द लिडर’ निर्णायकका कारण पनि रोचक बनेको छ । निर्णायकमा आफैं बल्ल–बल्ल नेता हुने प्रयास गरिरहेका साझा पार्टीका अध्यक्ष तथा पूर्वपत्रकार रवीन्द्र मिश्र छन् । आफैं नेता हुन नसक्नेले कस्तो नेता छान्लान् भनेर प्रश्न उठाइएको छ । हुन त नेपाल हो यहाँ जे पनि हुन्छ । केहीअघि एउटा साप्ताहिक पत्रिकाले नायिका रेखा थापालाई ‘लभ गुरु’ बनाएर स्तम्भ नै चलाएको थियो । यसरी यहाँ जो जेमा असफल हुन्छ, उसले त्यही विषयमा ‘विज्ञता’ देखाइरहेका छन् ।

रवीन्द्र र बाबुरामको कुरा छाडिदिऊँ । अर्को निर्णायकबारे चाहिं यहाँ कुरा नगरी नहुने रहेछ । सुशीला कार्की कार्यक्रमको निर्णायक मात्रै हैनन्, पूर्वप्रधानन्यायाधीश पनि हुन् । पूर्वप्रधानन्यायाधीशले के गर्ने ? के नगर्ने भन्ने सीमा छन् । कार्यक्रमको निर्णायक हुन हुने÷नहुने पनि छँदै छन् । यसको कार्यक्रम सञ्चालक आत्महत्या दुरुत्साहन मुद्दामा मुछिएका व्यक्ति हुन् । मुद्दाको किनारा लागिसकेको छैन, धरौटीमा सम्म रिहा भएका हुन् । यसले आत्महत्या दुरुत्साहन मुद्दामा रवि दोषी ठहर हुन सक्ने सम्भावना कायमै छ । निर्दोष पनि ठहरिएलान् । यस्तो अवस्थामा ‘न्यायाधीश’ र ‘झगडिया’ एउटै मञ्चमा बस्न मिल्छ कि मिल्दैन ‘श्रीमान्’ ?

कार्यक्रम त प्रशारण हुने पक्का भएरै घोषणा भएको हो । केही पत्रिकाले कार्यक्रमको ज्याकेट पनि लगाएका छन् । प्रशारण हुनुअघि नै चर्चा बटुल्ने केहीमध्ये एक कार्यक्रममा परेको यसले कस्ता नेता छान्ला हेर्न बाँकी नै छ ।