गोबिन्द सुबेदी
गण्डकी प्रदेशका अधिकांश जिल्लाका बासिन्दाले पवित्र जल मानेर सेती नदीमा स्नान गर्छन्, तर प्रदेशकै ठूलो अस्पतालले सेतीमा ढल बगाउँछ
गण्डकी प्रदेशकै ठूलो मणिपाल शिक्षण अस्पतालले दैनिक करिब २६ सयजनाको ढल सीधै सेती नदी र कालीखोलामा मिलाउने गरेको छ । अस्पतालतर्फ प्रशासन, चिकित्सक, नर्स र बिरामी गरी करिब दुई हजार र कलेजतर्फ प्रशासन, प्राध्यापक र विद्यार्थी गरी करिब ६ सयजना छन् ।सन् १९९२ मा नेपाल सरकार र मणिपाल ग्रुप इन्डियाबीच सम्झौता भएर स्थापित अस्पताल सात सय ५० शड्ढयाको छ ।
पोखरा महानगरपालिका–११ फूलबारीस्थित अस्पतालमा ८११ कर्मचारी छन् । दैनिक एक हजारदेखि १५ सयसम्म बहिरंग विभागमा सेवाग्राही आउँछन् । ‘अस्पताल जस्तो संवेदनशील संस्थाले गैरजिम्मेवार बनेर ढल सेती नदी र कालीखोलामा निर्वाध फाल्ने गरेको पायौँ,’ उच्चस्तरीय छानबिन समितिका एक सदस्यले बताए । अस्पतालको दक्षिणी भागमा इफ्युलेन्ट ट्रिट्मेन्ट प्लान्ट (इटिपी) जोडिए पनि ढल प्रशोधन हुने गरेको छैन । प्रशोधनविनै अस्पतालले नदीमा ढल मिसाइरहेको छ । जबकि पवित्र जल मानेर गण्डकी प्रदेशका अधिकांश जिल्लाका बासिन्दा सेती नदीमा स्नान गर्छन् ।
प्रदेश सरकारले पूर्वन्यायाधीश लिप्तबहादुर थापाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेर प्रतिवेदन तयार पारेको पनि वर्ष दिन बितिसक्यो । तर, हालसम्म प्रतिवेदन गुपचुप छ । छानबिन समितिका एक सदस्यका अनुसार अस्पतालले सिरिन्जलगायत दोहो-याएर प्रयोग गर्न नमिल्ने वस्तुलाई पनि सही ढंगले डिस्पोज नगरेको पाइएको छ ।
तर, नयाँ पत्रिकालाई प्राप्त सो प्रतिवेदनमा ‘अस्पतालबाट निस्कने फोहोर ढललाई अत्याधुनिक प्लान्टमा प्रशोधन गर्ने गरेको पाइयो’ भन्दै गोलमटोल भाषा प्रयोग गरिएको छ । अस्पतालका निर्देशक डा. एएल शर्माले अस्पतालमै ध्यानकेन्द्रित हुँदा ढलतर्फ सोच्न नसकिएको प्रतिक्रिया दिएका छन् । अस्पतालका डिन डा. बिएम नागपालले भने विगतमा ढल व्यवस्थापनमा केही कमजोरी रहे पनि हाल सुधारेको र सिरिन्जलगायतका उपकरण डिस्पोज गरेर नै व्यवस्थापन गर्ने गरेको दाबी गरे ।
मणिपालको गम्भीर लापरबाही पाइयो
लिप्तबहादुर थापा, मणिपाल शिक्षण अस्पताल विवाद समाधान उच्चस्तरीय समिति संयोजक
मणिपालले कलेज र अस्पतालबाट उत्सर्जन हुने ढल सीधै नदी र खोलामा मिसाउने गरेको अध्ययनका क्रममा पायौँ । त्यसलाई प्रतिवेदनमा समेत प्रस्ट उल्लेख गरेका छौँ । मणिपाल कलेजबाट सीधै कालीखोला र व्यक्तिका जग्गामा समेत विनारोकतोक ढल मिसाएको पाइयो । अस्पतालबाट पनि सेती नदीमा सीधै ढल मिसाएको पाइएको साँचो हो । सरकारी निकायले अनुगमन नगर्ने र गर्न जाँदासमेत पूर्वसूचना दिने गरेको पायौँ । अस्पतालसँग कतै नियमनकारी निकायको मिलेमतो पो छ कि भन्ने शंकास्पद स्थितिसमेत देखियो । हामीले प्रतिवेदनमै पूर्वसूचना दिएर अनुगमन गर्नु जायज नरहेको उल्लेख गरेका छौँ । अस्पतालमा प्रयोग भएका कतिपय उपकरण उपयुक्त ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
व्यवस्थापन गर्छौँ भन्छ, तर कलेजले टेरेको छैन
मानबहादुर जिसी मेयर, पोखरा महानगरपालिका
मणिपालले ढल व्यवस्थापन नगरेको विषय पटक–पटक उठ्ने गरेको छ । महानगरले समन्वय गरेर अन्य फोहोर उठाउने गरेको छ । तर, ढललगायतका फोहोर आफैँ व्यवस्थापन गर्न अस्पताललाई पटक–पटक ताकेता गरेका छौँ । व्यवस्थापन गर्छौँ पनि भन्छन् तर टेर्दैनन् । उपकरण भएर पनि प्रयोग नगरी पेल्ने प्रवृत्ति देखिएको छ ।
प्रतिवेदन वर्ष दिनसम्म गुपचुप
उच्चस्तरीय समितिले चार महिना लगाएर तयार पारेको प्रतिवेदन प्रदेश सरकारले वर्ष दिनसम्म गुपचुप राखेको छ । गत वर्षको मंसिर पहिलो साता गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनलाई समितिले प्रतिवेदन बुझाएको थियोे । तत्कालै मुख्यमन्त्रीलाई बुझाएकाले प्रतिवेदन आफूहरू नभएको मन्त्रालयले जवाफ दिएको छ ।
स्वास्थ्य महाशाखा पनि सो प्रतिवेदन नरहेको महाशाखाका तत्कालीन प्रमुख रमेशप्रसाद अधिकारी बताउँछन् । ‘प्राप्त भएपछि हामीले मुख्यमन्त्रीलाई बुझाएका हौँ, सो प्रतिवेदन महाशाखामा छैन, मुख्यमन्त्रीको कार्यालयमै सबै जानकारी माग्नुहोस्’ उनले भने ।
मुख्यमन्त्रीको कार्यालयले पनि सोही प्रकृतिको जवाफ दिएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले आफूकहाँ प्रतिवेदन आइनपुगेको र जानकारीसमेत नरहेको बताए । समिति गठन भएर प्रतिवेदन बुझाएको विषयमा नै अनविज्ञता प्रकट गरेका उनले मणिपाल शिक्षण अस्पताल केन्द्र सरकारको मातहत रहेकाले प्रदेश सरकारले चाहेर पनि केही गर्न नसक्ने प्रस्ट्याए ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले पनि प्रतिवेदनका बारेमा आफूलाई जानकारी नरहेको बताए । प्रतिवेदन मन्त्रालयमा नरहेको सुन्दा आफूलाई दुःख लागेको उच्चस्तरीय छानबिन समितिका संयोजक लिप्तबहादुर थापा बताउँछन् ।
साभार: नया पत्रीका दैनिक