प्रकाश सुवेदी
अविश्रान्त (२०७५) अम्बिका अर्यालद्वारा रचित उपन्यास हो । यस उपन्यासले समाजमा प्रेमका नाममा युवायुवतीमा बढ्दो शारीरिक आकर्षण र त्यसबाट निम्तिन सक्ने दुर्घटनाप्रतिको सचेतनालाई देखाएको छ । अविश्रान्तको अर्थ कहिल्यै नटुङ्गिने वा निरन्तर चलिरहने भन्ने हुन्छ । यस उपन्यासले आत्मिक र निस्वार्थ प्रेम जीवन्त रहने सन्दर्भलाई प्रस्तुत गरेको छ र प्रेमकै अजरामर रुपलाई अविश्रान्त मानेको छ । यस उपन्यासमा नारी र पुरुषहरु यौवनमा एकअर्काप्रति अनेक आकर्षणका माखेसाङ्लोले बेरिएका भए पनि वास्तविक प्रेमले कहिल्यै स्वार्थसिद्धिको मार्ग नरोज्ने सन्दर्भलाई देखाएको छ । आकर्षण र प्रेम समानधर्मी नभएर आकाश पाताल फरक भएको कुरालाई यस उपन्यासका घटना तथा कथानकीय सङ्कथनले पुष्टि गरेको छ ।
बाल्यकालमा गरिएको प्रेम नबुझेरै गरिएको भए पनि अविष्मरणीय हुन्छ । त्यसमा स्वार्थभन्दा भावनाकै प्रमुखता हुन्छ । हृदयको प्रेम भौतिक सुन्दरतामा नअल्झिएर दुई आत्माको मिलनमा नजानिँदो पाराले हुँदोरहेछ । हृदयका प्रेमका अगाडि आकर्षण र देखावटी प्रेमको न त केही मूल्य हुँदोरहेछ न त अर्थ नै । जहिले पनि हृदयको अगिल्तिर हार मानेर बिलाउन बाध्य हुने स्वार्थी प्रेममा कपटताको प्रतिफल मिल्दो रहेछ भन्ने तथ्यलाई अविश्रान्त उपन्यासले विषयवस्तुका रुपमा चयन गरेको छ । विशेषत ः प्रेमकै विषयलाई देखाउन लेखकले यसमा प्रेमका अनेक रुपहरुलाई दृष्टान्त बनाएको पाइन्छ ।
विद्यालय जीवनमा गरेको प्रेम निस्वार्थ भएर पनि परिवारले दुर्घटनामा परेर अपाङ्ग केटीलाई घरमा बुहारी बनाएर भित्र्याउन नसक्ने अठोट गरेपछि प्रेमीसमेत परिवर्तन भएको सन्दर्भलाई यसले उठाएको छ ।
हाम्रो समाजमा निरीह नारीका लागि प्रेम समेत घुँडा टेकेको सन्दर्भ रुपा र ध्रुवबीचको प्रेमसम्बन्धमा भएको विच्छेदले पुष्टि गर्दछ । सँगै जिउने वाचालाई भुलेर आमाबाबुको अगिल्तिर विद्रोह गर्न नसक्ने छोराले अनेक केटीहरुलाई मायाजालमा फसाउँदै धोका दिएको सन्दर्भ र त्यसैको बदला लिएर हिसाबकिताब बराबर बनाइछाड्ने नारीको कदमले उपन्यासलाई रोचक बनाएको छ । वर्तमान समयमा शिक्षित नारीहरु सहनशीलताको पगरीलाई उदारेर मुकाविलाको मार्ग रोज्नमा कम नभएको तथ्यलाई उपन्यासले मार्मिक पाराले देखाएको छ ।
यस उपन्यासमा देखापरेका पुरुष पात्रहरु जति शिक्षित र चतुर छन् नारीहरु पनि उत्तिकै जुझारु छन् । रोएर, निरीह बनेर होइन डटेर लड्न सक्ने नारी पात्रको उपस्थिति यस उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासकी तारा केही मात्रामा भावुक र सहनशील जस्तो देखिए पनि श्रद्धा, अमिता, रुपा आदि नारीहरुले आफ्नो जीवनमा पुरुषका कारणले घटित समस्याको चुरो पत्ता लगाएर मुकाविलामा जुटेका छन् । नारीहरु कमजोर हुन्छन्, सहनशील हुन्छन्, सामथ्र्यहीन र निर्णय क्षमता नभएका हुन्छन् भन्ने खालका पितृसत्तात्मक सङ्कथनहरुलाई भत्काएर जस्तालाई तस्तैको रणनीतिमा लागेका नारी पात्रको उपस्थितिले उपन्यास नारीवादी प्रवृत्तिको बन्न पुगेको देखिन्छ ।
यस उपन्यासभित्र उपन्यासकै चर्चा गरिनुले अधिआख्यानात्मक शैलीलाई यसले आत्मसात् गरेको देखिन्छ । आख्यानभित्र गरिएको आख्यानको कुराले कुन वास्तविक हो र कुन काल्पनिक हो भन्ने ठम्याउन हम्मे हम्मे परेको छ । वास्तविकता र कल्पनाको दोसाँध रहेको यस उपन्यासभित्रै सन्निहित भएर विभिन्न उपन्यासकार, तिनका उपन्यास तथा पात्रहरु आएका छन् । यसमा रामलाल जोशी, राधा पौडेल, अमर न्यौपाने, नारायणबहादुर अर्यालको वेदना कवितासङ्ग्रह, लैनसिंह बाङ्देलको माइतघर उपन्यास, इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथाकी जयमाया, धु्रवचन्द्र गौतमको एक शहरमा एक कोठा उपन्यास, सुबिन भट्टराईको साया, रुद्रराज पाण्डेको रुपमती उपन्यास, विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्र दाइ उपन्यास, सरुभक्तको पागलबस्ती उपन्यासको समेत प्रसङ्ग आएका छन् । यसरी उपन्यासले सिङ्गो औपन्यासिक धरातलमा अन्य उपन्यासको चर्चा गरिरहँदा पाठकहरु वास्तविक संसारमा रहेको भान हुन्छ तर पाठक कतिबेला उपन्यासको परिवेशमा प्रवेश गरिसक्यो भन्ने एकिन नै नभई उपन्यास पढिसकेर बाहिरिएको हुन्छ । यसरी यस उपन्यासमा उत्तरआधुनिकताको अधिआख्यानात्मक शैलीलाई अवलम्बन गरिएको छ ।
यस उपन्यासमा उत्तरआधुनिकताकै प्रवृत्तिका रुपमा दखापरेको विधामिश्रण तथा विधाभञ्जनको स्थिति पनि देखिन्छ । प्रेमदोहोरीका रुपमा समावेश गरिएका गजल, कविता तथा मुक्तकदेखि एसएमएस वा म्यासेज तथा संवादात्मक शैलीले औपन्यासिक तत्वलाई भञ्जन गरेको छ । यसमा राखिएका हरेक शीर्षकलाई अलगअलग पढ्दा एउटा पूर्ण कथाजस्तै लाग्ने हुनाले कथासङ्ग्रहको रुपमा पनि यसलाई परिभाषित गर्न सकिने हुनाले कविता, नाटक तथा कथाविधाको मिश्रित रुप यसमा भेटिने हुँदा विधामिश्रणका हिसाबले समेत उत्तिकै प्रबल बनेको छ ।
आफ्नो मातृभूमिलाई छाडेर विदेशमा जीवन निर्वाह गर्न कठिन युवाहरुको कथालाई यसले समेटेको छ । अलग समाज, संस्कृति र परिवेशले निस्सासिएर युवाहरु दिनप्रतिदिन विदेशमा कसरी कष्टकर जीवन जिइरहेका छन् भन्ने सन्दर्भलाई यस उपन्यासमा स्थान दिइएको छ । यस्तै यसले त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाएर पहिलो प्रेमलाई कसैले भुल्न नसकेको तथ्यमार्फत् आत्मिक प्रेमको उच्चताको पुष्टि गरेको छ । यस उपन्यासका नारीपात्र भावना र विपासाका माध्यमबाट नारीहरुले चाहेको खण्डमा पुरुषको जतिसुकै ठूलो भूलमा पनि क्षमा दिन सक्ने नारीशक्तिको उजागर गरिएको छ भने एउटी नारीका लागि जीवन अर्पण गर्न सक्ने अनन्त जस्तो पुरुष पात्रको उपस्थितिले आत्मिक प्रेममा लैङ्गिक विभेद नरहने तथा नारी र पुरुष दुवैले त्याग एवम् बलिदान गर्न सक्ने सन्दर्भलाई प्रस्तुत गरेको छ । यसरी यस उपन्यासमा सरल भाषा तथा नवीन शैलीको प्रयोग गरी निस्वार्थ प्रेमको अमरत्वलाई प्रस्तुत गरिएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.