सरिता तिम्सिना पगेनी
पेखरा ।
पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया कम्पनीका प्रबन्ध निर्देशक डम्बरबहादुर खत्री मेला अवलोकनकर्ताहरुलाई चिया चखाउनमै ब्यस्त देखिन्छन् । उद्योगले आम उपभोक्तालाई अर्गानिक चिया खान सिकाउँछ । मेलामा साखेजुङ ब्राण्डका विभिन्न प्रकारका चिया स्टलमै चाख्ने व्यवस्था मिलाइएको छ ।
मेला अवलोकनकर्ता कंचन थापाले चिया चाखिसकेपछि प्रतिकृया दिदै भनिन् ,” आर्गानिक चिया भनेको अर्गानिकनै हुने रहेछ ।चिया खाइसकेपछि पनि जिब्रोमा लामो समयसम्म मिठास आईरहने ।” जर्मनीले अर्गानिक प्रमाणित गरेको चियाको मुख्य बजार विदेश नै हो । ‘तर, नेपालीलाई पनि अब अर्गानिक चिया खुवाउनुपर्छ भन्ने ठानेर हामीले यहाँ चियाको स्टल राखेका हौँ’ कम्पनीका प्रबन्ध निर्देशक डम्बरबहादुर खत्रीले भने,‘वार्षिक २५ हजार टन चिया उत्पादन गरिरहेका छौँ ।’ उनका अनुसार यही वर्ष चीनमा पनि हामीले उत्कृष्ट हुँदै रजत पदक भयौँ भने नेपाल पनि राष्ट्रपतिबाट हामी पुरस्कृत भएका छौँ ।’ कम्पनीले एक किलो चिया सस्तोमा ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बेच्छ । राज्यले अर्गानिक चिया उत्पादनमा बिशेष जोड दिनु पर्छ खत्रीले पोखरा पोष्ट संगको कुराकानीमा भने । मेलामा बिक्रीभन्दा पनि नेपालीहरुमा अर्गानिक चिया सम्बन्धी चेतना बढाउने उदेश्यले आफूहरुले स्टल राखेको खत्रीले बताए ।
पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।