विश्वकै होचा व्यक्तिको नाम लेखाउन सफल खगेन्द्र थापा मगरको निधन

0
1464

 

आरजु पोखरा ।

  सन २०१० मा गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा विश्वकै होचा व्यक्तिको नाम लेखाउन सफल नेपालका खगेन्द्र थापा मगरको शुक्रवार पोखरामा निधन भएको छ ।

छाति तथा मुटु रोगबाट ग्रसित थापालाई बिहिवार स्वास्थ्यमा समस्या देखिएपछि पोखरा फूलवारीस्थित मणिपाल शिक्षण अस्पतालमा आईसियूमा राखिएको थियो । उपचारको क्रममा रहेका थापाको शुक्रवार अपरान्ह ३.०० वजे २८ वर्षको उमेरमा निधन भएको हो । खगेन्द्र निमोनियाले ग्रस्त भईसकेका रहेछन्, अस्पताल श्रोतले भन्यो :“उनको स्वास प्रश्वासमा समस्या देखिएको थियो भने हेमोग्लोविनको कमि र सेतो रगत बढि देखिने गरेको थियो ।”

वागलुङ धुल्लु वासकोट ६ घर भएका खगेन्द्रलाई २०६१ सालमा पोखरा ल्याईएको थियो । थापा पोखरा आउनु अघि रेडियो अन्नपूर्णले उनको बारेमा “बागलुङमा कोटको गोसिजमा अटाउने वालक भेटिए” शिर्षकको समाचार प्रशारण गरेपछि उनको खोजि र उनलाई गिनिज बुक अफ द वल्र्ड रेकर्ड्समा नाम लेखाउनको लागि पहल शुरु गरिएको थियो ।

२०६१ सालपछि खगेन्द्र बुबा रुपबहादुर थापा मगर, आमा धनमाया थापा मगर र भाई महेश थापा मगर को साथ पोखराको सिर्जनाचोकमा बस्दै आएका थिए ।

थापाले आफ्नो १८ औं जन्मोत्सवको अवशरमा नेपाल र नेपालीलाई चिनाउँदै सन २०१० अक्टोवर १४ तारीख अर्थात २०६७ साल असोज २८ गते विश्वकै होचा व्यक्तिको नाम लेखाउन सफल भएका थिए । उनको जन्म सन १९९२ मा भएको थियो । जन्मिदा उनि ६ सय ग्राममा थिए भने उनको तौल साढे पाँच किलो थियो ।