राष्ट्रिय सभा सदस्य विन्दादेवी आले रानाले बिगतका वर्षमा भन्दा फरक ढंगले यो वर्ष कास्की क्षेत्र नं २ मा निर्वाचन पूर्वाधार विकास कार्यक्रमहरुको छनौट समान रुपले नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस यूनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रानाले वर्तमान सरकार आफ्ना विभिन्न स्वार्थमा लिप्त भई संविधानको मर्म र भावना बिपरित २०७६÷२०७७ को स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम ल्याएको बताउनु भयो ।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमको कार्यविधिलाई टेकेर कास्की क्षेत्र नं २ का निर्वाचित सांसद विद्या भट्टराईले समेत यस आर्थिक वर्षको वजेट एकलौटी र स्वईच्छाचारी ढंगबाट छनौट गरेको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।
साथै रानाले तीनदिनसम्म चलेको वैठकमा आफ्ना योजनाहरुको बारेमा जिल्ला समन्वय समितिका संयोजक बैन बहादुर क्षेत्रीले अपशव्द प्रयोग गरेको भन्दै खेद व्यक्त गर्नुभयो । तर उहाँले कस्तो अपशव्द हो त्यो चाँहि नभने पनि उहाँको बोलाईको शैली सामान्य नभएको बताउनु भयो ।
२०७० सालमा गठित तत्कालिन स्वर्गिय शुसिल कोइराला नेतृत्वको सरकारले लामो समयसम्म खाली रहेको स्थानिय निकायमा ससाना काम, भौतिक पूर्वाधार, ट्रयाक खोल्ने, खानेपानी लगायतका योजनाहरु निर्माणमा समस्या आउँदा २०७१/२०७२ सालको वजेटमा निर्वाचन पूर्वाधार विकास कार्यक्रम नामांकन गरि रकम समावेस गरीएको थियो । उक्त कार्यक्रमले हालसम्म निरन्तरता पाईरहेको छ तर बिगतका वर्षमा क्षेत्र नं २ का प्रत्यक्ष सांसद र आफु बसेर समान रुपमा योजनाहरु छनौट गर्दै आएकोमा यो पटक त्यसो नगरीएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य रानाले यस आर्थिक वर्षमा पेश गरेका योजनाहरु १८ वटा रहेका छन् भने सांसद भएदेखि हालसम्म गरेका कामहरु ८ वटा रहेका उहाँको प्रेस नोटमा लेखिएका छन् । उहाँले सांसद विकास कोष, पूर्वाधार तथा गाउँ नगर साझेदारी कार्यक्रम लगायतबाट स्वर्गिय रवीन्द्र अधिकारी र आफुले समान रुपमा छनौट गरेका योजनाहरु २०७० साल देखि २०७५/२०७६ सम्मका भएको दावि गर्नुभएको छ । उहाँले भन्नुभयो :“यहाँहरुलाई मैले पारदर्शिता, सामाजिक उत्तरदायित्व र जवाफदेहितासाथ जानकारी गराउँदछु ।”
कार्यक्रम प्रेस यूनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको थियो ।