हाइटेकमा राम्रो फल्यो गोलभेडा, कृषि शाखाबाटै बजारमा

0
942

सीता डोटेल

पाल्पा रामपुर  ।

रामपुर नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण भएको जिल्लाको सबैभन्दा ठुलो हाइटेक टनेलमा उत्पादित गोलभेडा बजारमा पुगेको छ ।

कृषि शाखा कार्यालय परिषरको साढे २ रोपनी क्षेत्रफलमा निर्माण गरि हाइटेक टनेलमा पहिलो पटक परीक्षण स्वरुप गोलभेडा लगाइएको थियो । गत कात्र्तिकमा टनेलमा ३ हजार विरुवा रोपिएको थियो । सो टनेलबाट पहिलो पटक फलेका ५० किलो गोलभेडा बजारमा पुगेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले टनेल व्यवस्थित र रेखदेखको लागि २ कर्मचारीलाई जिम्मेवारी दिएर आफैंले टनेल व्यवस्थापनमा जुटेपछि सोचेभन्दा राम्रो प्रतिफल लिन सकिन्छ भन्ने विश्वास लिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । कृषि प्राविधिकको रहोवरमा शुरुदेखि नै दैनिक रेखदेख हुन्छ थापाले भन्नुभयो–ढुङग्यान सहितको सुख्खा चौरलाई हराभरा गरेर एकै बोटमा राम्रो उत्पादन दिने गरि गोलभेडा फलेको छ । कृषि र पर्यटनको संभावना बोकेको रामपुर उपत्यकामा विस्तारै बाहिरबाट तरकारी आयातमा रोक्ने गरि प्रविधि सहितको तरकारी उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो । कृषि प्राविधिक तथा सहयोगी कामदारबाट गोलभेडाको रेखदेख सँगै फल टिपिन्छ । पहिलो पटक विहिबार एकैसाथ ५० किलो गोलभेडा टिपिएको कृषि प्राविधिक शुसिल अधिकारीले जानकारी दिनुभयो । कृषि शाखा कार्यालय वरपरका साना पसल सँगै घरायसी प्रयोजनका लागि उपभोत्ताले २ देखि ८÷१० किलोसम्म कृषि कार्यालयमा पुगेर गोलभेडा किन्ने गरेको अधिकारीले बताउनुभयो । अधिकारीलाई नै मुख्यत टनेल र गोलभेडा बिक्रीको जिम्मेवारी दिइएको छ । १÷२ दिन बिराएर टिप्ने भनेका छौं अबस्था र माग अनुसार पनि भर पर्छ अधिकारीले भन्नुभयो । पहिलोपटक हाइटेक टनेलबाट बजारमा आएको गोलभेडाको मुल्य प्रतिकिलो ५० रुपँया छ । आइतबार पनि थप उत्तिकै मात्रामा गोलभेडा टिप्ने कृषि प्राविधिकको भनाई छ । एक बोटमा ३ किलोसम्म टिप्न सकिने गरि उत्पादन भएको प्राविधिक अधिकारीले बताउनुभयो ।

टनेल निर्माण सम्पन्न पछि परिक्षणको रुपमा लगाएको गोलभेडा राम्रो उत्पादन दिएपछि उत्साह बढेको छ । जिल्लाको ठुलो हाइटेक टनेल ३६÷३६ मिटर लम्बाई र चौडाईमा फैलिएको छ । रामपुर नगरपालिकाको ३१ लाख रुपँया र प्रदेश सरकारको २५ लाख गरि ५६ लाखको लागतमा निर्माण सम्पन्न हाइटेक नयाँ प्रविधि विकासको रुपमा लिइएको छ । जहाँ आवश्यकताअनुसार तापक्रमको सन्तुलन, हावामा सापेक्षिक आद्रता कायम गर्ने, सेडनेटद्धारा घामको तापक्रम छेक्ने, जाडो समयमा रोलिङ युभी प्लास्टिकद्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराउने, थोपा सिँचाइ प्रविधि, कीरा लाग्नबाट जोगाउन पनि उपयोगी छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने टनेलभित्र गर्मीयाममा सेन्सरमार्फत कुलिङ प्याड र फ्यानको प्रयोग गरी चिसोपना र हावामा सापेक्षित आद्रता कायम गर्ने, कीरा छेक्ने जालीको प्रयोगले कीरा लाग्नबाट बचाउने साथै बिषादी रहित तरकारी उत्पादन हुनेछ । यस प्रविधिको प्रयोग भएकाले हाइटेक हेर्न आउने पनि बढेका छन् । हाल सम्म १ हजार बढीले हाइटेकको अवलोकन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । कार्यपालिकाको निर्णयबाट प्रविधि विकासमा सघाउ पु¥याउन समुह संस्थालाई १ हजार, सर्बसाधरण नागरिकलाई १ सय र विद्यार्थीका लागि ५० रुपँया टिकटको व्यवस्था गरि हाइटेक टनेलको व्यवस्था गरेको छ । यसबाट भएको आम्दानी टनेलको व्यवस्थापनमा नै लगाइएको कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताउनुभयो । हाइटेक अबलोकनमा सुस्ता पुर्व हुप्सेकोट, स्याङ्गजा गल्याङ्गबाट र पाल्पाकै विभिन्न पालिकाबाट समुह संघसंस्था आएका छन् ।

कृषिमा प्रविधि भित्रिएसँगै यस क्षेत्रका किसानहरु प्रविधिको प्रयोग र ढुक्क साथ कृषिमा लगानी र स्थानीय निकायसँग समन्वय गरि कृषि उत्पादन र पशुपालनमा अग्रसर भएका छन् । कृषिमा अनुदान, युवा स्वरोजगार कार्यक्रमबाट विना ब्याजमा सिमिति समयसम्मलाई बैंकबाट रकम झिक्ने व्यवस्था भएपछि विदेशबाट फर्किएका र विदेश जान तयार भएका युवाहरु कृषिमा लगाव भएका छन् भने आत्मनिर्भर र भविश्य खोज्दै कृषि पेशा अबलम्बन गरेका छन्  ।