गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उपाधि लमजुङको त्रिवेणी क्लबले जितेको छ । आदर्श युवा क्लबलाई उसैको मैदानमा २–० गोलले गर्दै मुख्यमन्त्री लिगको उपाधि लमजुङ पुर्याएको हो ।
प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढिक खेलमैदानमा आदर्शलाई घरेलु मैदानमै पराजित गर्न त्रिवेणीले पहिलो र दोस्रो हाफमा दुई गोल गर्यो । घरेलु दशर्कलाई शान्त बनाउँदै उपाधि उचाल्न अस्मिन गुरुङ र नवराज गुरुङको गोल पर्याप्त बन्यो ।
दर्शकको अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन गरेको आर्दशले पहिलो गोल १५ औं मिनेटमा सामना गर्यो । डिफेन्स र गोलकिपर विट भईसकेको अवस्थामा अस्मिन गुरुङले साईड भली हिर्काएको बल सिधै पोष्टभित्र छिरेपछि पाहुना टोली त्रिवेणीले खुशीयाली मनाउँदै उपाधि यात्रामा लम्कियो ।
पहिलो हाफमै तीन महत्वपूर्ण अवसर गुमाएको आर्दशले पहिलो हाफ गोल विहीनमै टुग्याउँदा १–०ले पछि थियो । पाएका अवसर गुमाएपछि खेलमा फर्किने आशालाई दर्शकले समेत हौसला थपे । तर गोल गर्नचुकेपछि दर्शकपछि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनको अपेक्षामा थिए । तर ४९ औं मिनेटमा त्रिवेणीका लागि नवराज गुरुङले व्यक्तिगत गोल हिर्काएपछि त्रिवेणीको जितको आधार बलियो बन्यो ।
प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गरेका थिए । स्याङजाबाट होराइजन क्लब, तनहुँबाट भीमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आर्दश क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लब, बाग्लुङ फुटबल संघ तथा म्याग्दी जिल्ला खेलुकद विकास समितिको टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजेता टिम त्रिवेणी क्लबले ट्रफीसहित ५ लाख र उपविजेता आर्दश क्लबले ३ लाख सहित ट्रफी प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक आकाश रानाभाट(लमुजङ त्रिवेणी क्लब), उत्कृष्ट डिफेण्डर अन्जन देवकोटा(त्रिवेणी क्लब लमजुङ), मिडफिल्डर सुमित श्रेष्ठ(आर्दश क्लब कास्की), उत्कृष्ट फरवार्ड नवराज गुरुङ( त्रिवेणी क्लब लमजुङ) घोषित भए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने आर्दश क्लब कास्कीका सुमित श्रेष्ठ घोषित भए । उनीहरुलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।
खेलाडी न्युजवाट।
