डा. टीकाराम पोखरेल
‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।’
संभवत यो हप्ता कवि भूपि शेरचनको माथिको कवितांशलाई सबैभन्दा बढीले सम्झे होलान् । भूपिको यो कवितांशभित्रको भावको गहिराहीले मात्र होइन, यो हप्ता सहिद दिवसको सन्दर्भ भएकाले पनि यो कवितांशले धेरैको मन मष्तिस्क छुन पुग्यो होला । तर भूपिले यो पंक्ति लेख्दाको समयमा यी पंक्तिहरुमा जति शक्ति थियो अहिले यो पंक्ति माथि त्यति नै प्रश्न पनि उठेको छ । के भूपिले सत्य लेखेका थिए ? भूपिले भने झैँ सपूतहरु मरेर मात्र मुलुक बन्छ त ? बन्छ भने यो देशका सपुतहरु धेरै मरे, तर देश किन बनेन ? केही कारणहरु छन् ः
परिवर्तनको अपव्याख्या ः वि.सं. २००७ साल नेपालमा राजनीतिक परिवर्तनको पहिलो विन्दु हो । प्रजातन्त्रको प्रादुर्भाव मानिएको यो आन्दोलनको परिणामले राणाको स्थानमा राजा र राजनीतिक पार्टीहरुलाई स्थापित गरायो । २००७ साल परिवर्तनका लागि निर्णायक भए पनि १९९७ सालको सहिद काण्ड नै यो परिवर्तनको लागि प्रमुख घटना थियो । जुन काण्डमा गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई राणा शासनको विरोध गरे वापत फाँसी दिइएको थियो । राणकालमा भएको यो सबैभन्दा ठूलो र जनविरोधी कार्य थियो । यो घटनाले राणा शासनमाथि कलंकको टीका लगाइदिएको थियो । आज पनि सहिद दिवस भन्नासाथ सर्वप्रथम १९९७ सालका चार सपुतको विम्ब हाम्रो वरिपरि घुम्छ । २००७ सालको परिवर्तनले राणा शासन फाल्नुलाई नै ठूलो उपलब्धि ठान्यो । जनतासँग सरोकार राख्ने अरु कुनै परिवर्तन भएन । बरु दल र दरबार बीच शक्ति संघर्ष चल्दा २०१७ साल आयो । दलहरु प्रतिबन्धित भए पञ्चायतको जगजगी चल्यो । राजतन्त्रलाई निर्विकल्प र पञ्चायतलाई निर्दलीय प्रजातन्त्र भन्ने दाबी गरियो । जनतालाई हावापानी माटो सुहाउँदो व्यवस्था भन्ने भ्रम छरियो । दलहरुले देश विगारेको आरोप लगाइयो । पञ्चायतको विकल्पमा २०४६ मा बहुदल आउँदा फेरि राजतन्त्र र पञ्चायती व्यवस्थालाई देश विगारेको भन्दै बहुदल आउनासाथ स्वतः विकासको बाढी आउने अर्को भ्रम छरियो । त्यो भ्रमको विरुद्ध फेरि २०६३ मा गणतन्त्रलाई निर्विकल्प रुपमा प्रस्तुत गरियो । जति पनि व्यवस्था आए त्यो व्यवस्थाका उपभोगकर्ताहरुले सबैभन्दा राम्रो व्यवस्था यही हो भने । तर जनताको जीवनस्तरमा भने सामान्य बाहेक सुधार कुनै पनि राजनीतिक व्यवस्थामा देखिएन । सपुतहरु मरे समृद्धि आएन ।
राजनीतिक आवरणमा अराजनीतिक क्रियाकलाप ः नेपालको राजनीतिमा आन्तरिक अभ्यासमा जे देखिएको छ त्यो राजनीतिक आवरणमा देखिएको अराजनीतिक गतिविधि हो । राजनीतिमा सिद्धान्तको प्रतिस्पर्धा हुन्छ तर हम्रो राजनीतिक आवरणभित्र व्यक्ति व्यक्ति बीच प्रतिस्पर्धा हुन्छ । एक पार्र्टी अर्को पार्टी बीच प्रतिस्पर्धा हुनुपर्ने विषयमा एउटै पार्टीभित्र लडाइँ हुन्छ । एकै व्यक्तिको स्वार्थले देश बन्धक बन्छ । स्वार्थ मिले सबै मिल्छ नमिले सबै बन्द हुन्छ । नेताहरुमा एकले अर्कालाई, एक गुटले अर्को गुटलाई सिध्याउने तमाशा हुन्छ । राजनीतिभित्र अपराधीकरण घुस्छ, अपराध राजनीतिमा पस्छ । यो सबै अराजनीतिलाई राजनीतिक रुपमा स्वीकार मात्र गरिँदैन, यस्तो गर्न सक्ने नेतालाई चतुर राजनीतिज्ञको रुपमा अथ्र्याइन्छ । यस्तो भएपछि देश बन्नु त परै जाओस्, सपूतहरुको अपमान समेत हुन्छ ।
नकारात्मक धारको उदय ः नेपालको राजनीतिमा पछिल्लो समय नकारात्मक धारको उदय भयो । खासगरी २०४६ को परिवर्तनसँगै अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाले गर्दा मानिसहरु बोल्नका लागि तँछाडमछाड गर्न थाले । जानेर नजानेर एकले अर्काको कुरा काट्नै पर्ने, आफूलाई जान्ने देखाउनै पर्ने, अरुको आलोचना नगरी नहुने, प्रतिवाद नगरी बस्नै नसक्ने, आफूलाई जान्ने देखाउनैपर्ने, अरुलाई निकम्बा सावित गर्नैपर्ने प्रवृत्ति राजनीतिकवृत्तमा मात्र होइन सर्वसाधारणमा समेत देखा पर्न थाल्यो । भएका उपलब्धि देख्दै नदेख्ने नभएका गल्ती पनि बढाइचढाइ गर्ने रोगले समाज ग्रस्त भयो । समाचार माध्यममा नकारात्मक समाचार विक्न थाले, सकारात्मक समाचारको खँडेरी प¥यो । नकारात्मक राजनीतिलाई रातो कार्पेट विछ्याएर स्वागत र स्वीकार गरियो । गालीगलौज, तिक्डमबाजी, गुटबन्दीले राजनीतिमा वैधानिकता पायो । राजनीतिमा छिरेको नयाँ पुस्ता समेत यसैमा रमाउन थाल्यो । समाज मात्र होइन राजनीति नै नकारात्मक धारमा बग्न थाल्यो । दिनमा ९० प्रतिशत समाचार यस्तै नकारात्मक सुन्नुपर्ने बाध्यता भयो । यसले गर्दा राजनीतिप्रति नै जनताको वितृष्णा बढ्यो ।
दलहरुको चरम सत्तामोह ः पछिल्लो समय दल र नेताहरुको लक्ष्य नै सत्ता भयो । आफू सत्ता र भत्ता प्राप्त गर्ने ठाउँमा भए सबै ठीकठाक देख्ने र आफू सत्ताबाट बाहिरिनासाथ सबै भद्रगोल देख्ने दृष्टि दोषको रोगबाट कोही पनि नेता र दलहरु अछुतो रहेनन् । सत्ता पक्षले सबै ठीक छ भन्ने र विपक्षीले सबै बर्बाद मात्र देख्ने गर्दा राजनीति भनेको भ्रमकै खेती रहेछ भन्ने सन्देश जान थाल्यो । जनताले दुवैको दाबी नपत्याए पनि सत्ता र प्रतिपक्षको रटान फेरिएन । हरेक कुरामा सत्ता पक्षले आफ्नो बचाउ गर्ने सत्ताधर्म र विरोध गर्नु प्रतिपक्षधर्म भन्ने भ्रम छरियो । बचाऊ सत्ताको गर्ने कि सही कुराको ? विरोध गलत कुराको गर्ने कि प्रतिपक्ष भएको नाताले गर्ने ? यस्ता प्रश्न गरियो भने नेताहरु प्रश्न सोध्नेलाई नै भन्ने गर्छन्–तिमीहरुले लोकतन्त्रको मर्म र भावना बुझेकै छैनौ ।
आर्थिक परिवर्तन नहुनु ः वर्तमान सरकारको नारा नै समृद्ध नेपाल सुखी नेपाली रहेको छ । लामो समयदेखि राजनीतिक परिवर्तनका कुरा भए तर आर्थिक परिवर्तनका कुरा गरिएन भन्ने बोध गरेर नै सरकारले आर्थिक समृद्धिलाई प्राथमिकता दिएको होला । हुन त २०४६ पछि बनेका सबै सरकारले आफ्नो कार्यकालमा आर्थिक कायापलट गरेको र अर्को सरकार आएर बिगारेको दाबी गर्ने गरेका छन् । तर यस्ता आधारहीन दाबीलाई जनताले पत्याउँदैनन् ? कुनै दल सत्तामा बसेकै भरमा कायापलट भएको मानिदिनुपर्ने, फेरि अर्को दल सत्तामा पुगेमा खत्तम भएको मानिदिनुपर्ने निर्देशित नेताको जस्तो एकपक्षीय विचार जनताले बनाउँदैनन् । जनताले नेताले भने जस्तो आर्थिक सुधारको अनुभूति गरेकै छैनन् । जनताको जीवनमा केही सुधार आएको छ भने त्यसको ठूलो हिस्सा निजी क्षेत्रको प्रयासबाट भएको छ । जनता आर्थिक उपलब्धि चाहन्छन् नेता राजनीतिक उपलब्धिका कुरा गर्छन्, त्यो पनि आफू, आफ्नो पद र पार्टीलाई केन्द्रमा राखेर गर्छन् । अनि जनताले कसरी आर्थिक कायापलटको गफ पत्याउलान् ?
सहिदहरुको योगदानको अवमूल्यन ः देशमा राजनीतिक परिवर्तनका लागि धेरै सपूतहरुले आफ्नो ज्यानको आहुति दिए । राणाशासन, पञ्चायती राज र राजतन्त्र फाल्ने पटक पटकका आन्दोलनमा धेरैले आफ्नो ज्यान गुमाए । तर ती सहिदहरुको बलिदानीको सही मूल्यांकन गरिएन । वर्षमा एक पटक सहिदलाई सम्झने औपचारिकता निर्वाह गर्ने मात्र काम भयो । पछिल्लो समय त सहिदको मर्म नै नबुझी जुनसुकै कारणबाट मृत्यु भएकालाई पनि सहिदको रुपमा नाम चढाइयो । यसले देशको स्रोत साधनको दुरुपयोग मात्र भएन सच्चा सहिदको समेत अपमान भयो । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सच्चा सहिद हो । जोे देशको लागि आफ्नो बलिदानी गर्न तयार हुन्छ तर आज वर्ग, समूह, क्षेत्रदेखि लिएर दुर्घटनामा परेका समेत सहिद घोषणा हुँदा सहिदको परिभाषा नै घुमिल हुन पुगेको छ । यसरी खुलमखुला सच्चा सहिदको अपमान भैरहेको छ ।
देशमा राजनीतिक परिर्वतन र आर्थिक समृद्धिका लागि सहिदहरुले बलिदानी गरेका हुन् । यही सन्दर्भमा यो आलेखमा राखिएका सुरुका पंक्ति भूपिले लेखेका हुन् । तर यतिबेला आएर भूपिलाई प्रश्न गर्न पर्ने भएको छ– कविज्यू ! के सपुतले ज्यान आहुति दिँदैमा देश बन्छ र ? बन्नुपथ्र्यो, तर बनेन । किनभने मरेर गएका सपुतहरुको बलिदानीको मर्म बाँचेकाहरुले बुझेनन् । सत्ता र शक्तिमा लिप्त हुनेहरुले सहिदलाई बिर्से । देश भ्रष्टाचार, कुशासन र अराजनीतिको कुचक्रमा प¥यो । त्यसैले सपुतले बलिदानी दिएर मात्र देश बन्दैन भन्ने पुष्टि भयो । त्यसो भए के भूपिले सत्य लेखेका थिएनन् भन्ने प्रश्न पनि उठ्छ । तर भूपिले असत्य लेखेका थिएनन्, किन कि देशमा लोकतन्त्र आएपछि पनि कुशासन, भ्रष्टाचार, दुराचार, अराजनीति हाबी होला भन्ने कल्पना भूपिले गरेनन् । तर भूपिले कवितामा कल्पना नगरेको कुसंस्कार हाम्रा नेताहरुले राजनीतिमा भित्र्याए । राजनीतिभित्रको अराजनीतिक कुचक्रले सहिदको सपनाको अवमूल्यन ग¥यो । त्यसैले अब देश बन्नका लागि सपुतहरुले बलिदानी गर्ने होइन, बलिदानी अब भ्रष्टाचारको गर्नुप¥यो, बलिदानी अब कुशासनको गर्नुप¥यो, बलिदानी अब अराजनीतिक क्रियाकलापको गर्नुप¥यो, बलिदानी अब सत्तामोहको गर्नुप¥यो, अनि मात्र देश बन्छ । सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली पनि त्यही हुन्छ ।