किशोर तामाङ
कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा शनिबार सशस्त्र प्रहरीको बर्डर आउट पोष्ट (बिओपी) प्रहरीे निरिक्षकको नेतृत्वमा रहने गरी स्थापना गरिएको छ । सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्युनीकरणका लागि सिमाक्षेत्रमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहुले जानकारी दिनुभयो । उहाँका अनुसार भारतसंग सीमा जोडिएका कञ्चनपुरका जम्मा १३ स्थानमा बिओपी रहने गरी काम भइरहेको छ । हालसम्म ६ स्थानमा बिओपी स्थापना भइसकेको उहाँले बताउनुभयो ।
नेपाल–भारत सीमाक्षेत्रमा बिओपी स्थापनाले सिमाक्षेत्रको रक्षा तथा सिमाक्षेत्रमा हुने अपराधिक गतिविधिमा कमी आउने सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले विश्वास व्यक्त गर्नुभयो । हाल करीब २० किलोमिटरको दुरिमा बिओपी रहेको भएपनि कञ्चनपुर भर १३ स्थानमा बिओपी स्थापना भए पश्चात करीब ७ किलोमिटरको दुरीमा बिओपी रहने सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख गोविन्द क्षेत्रीले दाबी गर्नुभयो । क्षेत्रीले नेपालका बिभिन्न ठाउँमा भारतीय पक्षबाट नेपालको भुमी अतिक्रमणका परेको बताउदै कञ्चनपुरको सबै ठाउँमा सिमा स्तम्भ लोकेट गर्ने काम भईरहेको बताउनु भयो ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाउनु पर्ने यस क्षेत्रका नागरिक र जनप्रतिनिधिहरूको लामो समयदेखिको माग रहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले उल्लेख गर्नुभयो ।
पुनर्वासको बिभिन्न ठाउमा भारतीय प्रहरी एसएसबीले समय समयम सिमा अतिक्रमण गर्दै आएको छ । पुनर्वासको बिचफाँटामा गत वर्ष भारतको जगँलबाट आउने जनावरको रोकथामका लागी लगाईएको विद्युतिय तारवार भारतिय प्रहरीले बल प्रयोग गरी उखेलेर फालेको थियो ।
बिचफाँटा बिओपीको संस्थापक इन्चार्जमा सशस्त्र प्रहरी निरीक्षक हरेन्द्र खडकाले जिम्मेबारी पाएका छन् । लामो समयको प्रतिक्षापछि विचफाँटाबासीले बिओपी पाएसंगै सुरक्षाको अनूभूति गरेका छन् ।