काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले सवै विषयमा जनताका बीचमा छलफल आवश्यक नभएको बताएका छन् ।
“जनताले सवै कुरा जान्दछन् भन्ने हुदैन, त्यसैले नजानेका विषयमा छलफल गर्दा निर्णयमा पुग्न सकिदैन,” उनले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा भने ।
सल्लाहकार भट्टराईले एमसीसी जस्ता विषयमा जनताका बीचमा भइरहेको बहस गलत भएको टिप्प्णी पनि गरे । जान्ने, बुझ्ने र विज्ञहरुका बीचमा मात्रै छलफल गरेर निर्णयमा पुग्नु पर्ने र जनताको सुझावका औचित्य नहुने सल्लाहकार भट्टराईको भनाई छ ।
उनले सवै विषयमा जनताका विचमा छलफलको आवश्यकता नहुने तर्क गर्दै हरेक विषयमा जनताका बीचमा छलफल गर्न थाल्ने हो भने कुनै पनि विषयमा निर्णय हुन नसक्ने बताए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले गम्भीर र संवेदनशील विषयमा आम रुपमा छलफल चलाउने हो भने मुलुक नै अनिर्णयको बन्दी हुने र सरकारले केही नगर्न नसक्ने दावी गरे ।
उनले एमसीसीमा भएका सवै व्यवस्था ठिक भएको र संसदले त्यसलाई पारित गर्नु पर्नेमा जोड दिए । एमसीसीलाई पारित गर्न सकिएन भने मुलुकलाई ठूलो क्षती हुने र राम्रो अवसर गुम्ने भएकाले धेरै छलफल गरिरहन आवश्यक नहुने उनको भनाई छ ।