कविता :प्रेम यस्तो पनि !
निरु केसी
मैले जानिनँ फक्रँदो गुलाफको
जवानी चुँडेर तिमीलाई दिनँ
मैले जानिँन भ्यालेनटाइन डेका
उल्लासमय उन्मादमा
प्रेमका खुड्किला चाल्न
मैले कोरिनँ रक्त रञ्जित अक्षरहरुमा
प्रेमपत्रका कागजी अभिलेख पठाउन
नलेखेरै प्रेमपत्र
तिमीले मलाई
उहापोहा सर्लक्क पढिदियौ
नसोधेरै मेरो हृदयका चट्टानी पत्रहरुमा
तिमीले आफ्नो नाम कुँदिदियौ
आजपनि
तिमीले कुल्चेका ती डोवहरुमा
तिमीले सुस्ताएका चौतारीमा
तिमीलाई छोएर वहेको बतासमा
वर्षौंदेखि हेरेका ती जुन र ताराहरुमा
तिमी नै मुस्कुराएको देख्छु
तिमीले माया गर्यौ या गरेनौ
तर तिमीले स्पर्श गरेका हरेक विषयमा
तिम्रै मायाको आभाष पाउँछु
जसरी
नछोएरै सूर्यले पृथ्वीलाई
रापिलो स्पर्श दिन्छ
नछोएरै धर्तीमा
आकाश एकाकार हुन्छ
नछोएरै तिमीलाई मैले
मायाको त्यो अनुभुत गर्न सकुँ
जो
नगरिएरै गरिएको माया
नजोडिएरै जोडिएको साइनो
नहिडेरै हिडिएको गन्तव्य
नबोलेरै बुझिएको आत्माकथा
नलेखेरै पढिएको प्रेमपत्र
नटिपेरै अर्पिएको गुलाफ भन्दा
पवित्र ,स्निग्ध र अजम्बरी प्रेमका साक्षी बनुन्
आउ प्रिय
नहराउ तिमी ममा
म तिमीमा
तर यस्तरी विलय होउँ
मानौँ तिमी म हौ
म तिमी हुँ
अनि कस्ले भन्छ ?
हामीले गरेको प्रेम
प्रेम होइन ।।।