उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिन वडा नं ४ का अध्यक्ष शंकर बास्तोलाको संयोजकत्वमा समिति गठन

0
562

पोखरा। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) लाई नियन्त्रण गर्न पोखरा महानगरले वडा नं ४ का अध्यक्ष शंकर बास्तोलाको संयोजकत्वमा  समिति गठन गरेको छ ।समितिको सदस्यहरुमा वडा ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा ९ का अध्यक्ष रामराज लामिछाने, पोखरा उद्योग बाणिज्य संघका प्रतिनिधि दिनेश चन्द्र बास्तोला र पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रतिनिधि राजेन्द्र रेग्मी रहेका छन् ।

वडा नं ४, ८ र ९ का नगरबासीहरुलाई आवश्यक पर्ने उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिन  संघसंस्थासँग सहकार्य गरी दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति र वितरणका लागिसमिति गठन गरिएको थियो ।

 

समितिको शुक्रबार पहिलो बैठक बसी दैनिक उपभोग्य वस्तुलाई सरल र सुलभ बनाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

वडाहरुमा ग्यासँ वितरण तथा व्यवस्थापन सर्वसुलभ बनाउन सम्बन्धित वडाका जनप्रतिनिधि, वडा सचिव तथा ग्यासँ डिलर एशोसियसन र सप्लायर्स र प्रहरीको समन्वयमा वितरण गर्ने निर्णय भएको संयोजक बास्तोलाले जानकारी दिए । अव्यवस्थित बस्ती तथा दैनिक ज्याला मजदुरी गरी बस्ने जनसमुदायमा खाद्यान्नको अभाव हुन नदिन लागिपर्ने निर्णय समेत गरिएको छ ।

“कोरोनाको विश्वव्यापी त्रासले अहिले जुन अवस्था सिर्जना भएको छ, त्यसबाट जनजीवनलाई सहज बनाउने तर्फ लागिपरेको छु । अहिलेको अवस्थामा खाद्यान्न, ग्याँस, लगायतका उपभोग्य बस्तुको सहज पहुँच सर्वसाधारणमा नभएको अवस्थामा त्यसलाई सरल र व्यवस्थित गर्ने योजनामा छौँ।” बास्तोलाले भने ।