यस्तो छ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा क्रियाशील पत्रकार महिला, डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाको शुभकामना सन्देश

0
476

 

आज मे ३ (वैशाख २१) विश्व प्रेस स्वतन्त्रता दिवस, यस अवसरमा म सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन बिश्वभर बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको छ ।
विश्वव्यापि फैलिएको कोरोनाको संक्रमणका कारण यस वर्ष भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था रहेन । यद्यपि क्रियाशील पत्रकार महिलाले फ्रि प्रेस अनलिमिटेडसंगको सहकार्यमा नेपालमा “विपदमा मिडियाको भूमिका” विषयक डिजिटल छलफल कार्यक्रमको आयोजना गरी आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछौं । नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश विष्टज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना हुँदैछ ।
नेपालमा २०७६ सालमा प्रेस स्वतन्त्रता तथा लैंगिक अवस्थाबारे उल्लेख गर्दा २०७६ सालमा संसदमा सरकारले दर्ता गरेका प्रेस सम्वन्धी विधेयकमा प्रेस स्वतन्त्रताको आधारभूत मूल्य र मान्यतामै प्रहार गरिएपछि त्यसलाई सच्चाउन महासंघको नेतृत्वमा भएको दवावमूलक कार्यक्रमहरुमा क्रियाशील पत्रकार महिलाले सहकार्य जनायो भने उल्लेखित विधेयकहरुमा लैंगिक पक्षबाट अध्ययन गरी सरकारका सरोकारवाला विभिन्न निकायहरु ध्यानाकर्षण पत्र बुझाउने काम गर्यो । संसदले ती कानूनलाई अझै अन्तिमरुप दिन बाँकी रहेकाले यस प्रकारको दवाव अझै जारी राख्नु पर्ने अवस्था छ । संघ, प्रदेश र स्थानीय तहका सरकारले बनाएका प्रेस सम्वन्धी कानून र नीतिमा प्रेस स्वतन्त्रतालाई खुम्च्याउने तथा लैंगिक मैत्री नबनाउने, पितृसत्ताको निरन्तरता दिने प्रयासहरु जारी नै रहेका छन् । यी सबै कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री, लैंगिक मैत्री बनाउन क्रियाशील पत्रकार महिलाले आवाज उठाँउदै आएको छ ।
हालै, अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा क्रियाशील पत्रकार महिलाले (मार्च, २०२०) सार्वजनिक गरेको समाचार कक्षमा पत्रकार महिलाको अवस्थाका बारेमा गरेको अनुसन्धानले समाचार कक्षमा महिला हिंसा, विभेद जस्ता कुराको मोनिटरिङ नहुनु भनेको विषयवस्तुलाई पितृसत्तात्मक दृष्टिकोणबाट हेरिनु, नीति निर्माण तहमा महिला सहभागिताको कमजोरी भन्ने कुरा देखाएको थियो ।
अहिले कोरोना कहरको बीच पत्रकारहरुले जोखिम मोलेर तथा अग्रपंक्तिमा रहेर आम नागरिकलाई सुसूचित गर्ने काम गर्दै आए पनि उनीहरुले सरकार नेतृत्व, सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट विभिन्न आरोप तथा धरपकडको सामना गर्न बाध्य भएका छन् । यो अवस्थामा सम्पूर्ण पत्रकारलाई ‘भय र पक्षधरतामुक्त पत्रकारिता’को आवश्यकता छ ।
नेपालको संविधानको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरूप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि क्रियाशील पत्रकार महिलाले आग्रह गर्दै आइरहेको छ । प्रेस स्वतन्त्रता पत्रकारलाई मात्र चाहिने विषय होइन, प्रेस स्वतन्त्र भए बल्ल नागरिक स्वतन्त्रता सुनिश्चित हुने हुँदा पत्रकारितालाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गरी थप व्यवस्थित बनाउनु पर्दछ तर स्वनियन्त्रित हुनु हुँदैन ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लैंगिक समानता, पत्रकारको अधिकार र संचार माध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न सकियोस्, विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा पुनः सबैमा हार्दिक बधाईं तथा शुभकामना ।