पोखरा । साझा पार्टीले पोखरा -१६ मा घटेको घटनाले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्युनिष्ट पार्टी नै नांगिएको बताएको छ । शुक्रबार साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले प्रेस विज्ञप्ती जारी गर्दे पोखरा- १६ मा घटेको जातिय विभेदसम्बन्धि घटनामा पीडकलाई आत्मबल र संरक्षण पुग्ने गरी नेकपाका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्युनिष्ट पार्टी नै नांगिएको उल्लेख गरेका छन् ।
साझा पार्टीले गत चैत २६ गते पोखरा महानगरपालिका वडा नम्बर -१६ मा घटेको जातिय विभेद र यसले निम्त्याएको जातिय द्वन्द तथा जनप्रतिनीधिको आपत्तीजनक अभिव्यक्तिप्रति सिंगो साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘स्थानिय निकाय तथा समुदायको सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक क्रियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन । यतिमात्र नभएर जातिय उत्पिडनमा पारि गाली गलौज तथा हातपातसम्म गर्न खोजिनुले नेपाली समाज जातिय जडमा डुबेको देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।
साझा पार्टीले ‘जातिय विभेद गर्ने र जातिय विभेद गर्नेलाई बचाउने गरि अभिव्यक्ति दिने प्रदेश संसद’ दुवै पक्षलाई कानुनअनुसारको कारबाहीको माग गरेको छ । जातिय विभेदको मुद्दालाई सरकारबादी मुद्दाको रुपमा लिई अनुसन्धानलाई तिव्रता दिन पार्टीले जोड दिएको छ ।
प्रेस विज्ञप्ती
धार्मिक, साँस्कृतिक र जातिय विविधता नेपालको सम्पत्ति हुन् । साझा पार्टी सनातन धर्म, धार्मिक तथा जातिय सहिष्णुतासहितको सुसँस्कृत समाज निर्माणमा रहेको अवगत नै छ ।
गत चैत २६ गते पोखरा महानगरपालिका वडा नम्बर १६ मा घटेको जातिय विभेद र यसले निम्त्याएको जातिय द्वन्द तथा जनप्रतिनीधिको आपत्तीजनक अभिव्यक्तिप्रति सिंगो साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । स्थानिय निकाय तथा समुदायको सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक क्रियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन । यतिमात्र नभएर जातिय उत्पिडनमा पारि गाली गलौज तथा हातपातसम्म गर्न खोजिनुले नेपाली समाज जातिय जडमा डुबेको देखिन्छ । यसै सन्दर्भमा पीडकलाई आत्मबल र संरक्षण पुग्ने गरि नेकपाका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्यूनिष्ट पार्टी नै नांगिएको छ । यस्ता गैरजिम्मेबारीपुर्ण अभिव्यक्तिको समेत साझा पार्टी घोर भत्र्सना गर्दछ ।
घटना घटेपश्चात देखिएको परिघटनाले पीडितलाई विभिन्न दबाबमा राखेर घटना साम्य पार्ने उद्देश्य देखिनु दण्डहिनताको पराकाष्ठा हो । यसै सन्दर्भमा यस खालको मुद्दा पीडित र पीडकको बीचको मात्र नभई राज्य र पीडकबीचको हुनुपर्ने हाम्रो धारणा छ । यस्तो किसिमको अन्यायपुर्ण विभेदलाई सरकारबादी मुद्दाको रुपमा विश्लेषण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु । साथै पीडकको र घटनाको मतियार देखिने प्रदेश सदस्य माननीय कृष्णबहादुर थापालाई समेत अनुसन्धानको घेराभित्र राखि प्रचलित कानुनले तोकेको व्यवस्था अनुसार हदैसम्मको कारबाहीको लागि माग गर्दछु ।
साथै पीडितलाई सुरक्षा दिनु राज्यको दायित्व भएकाले पीडित र परिवारको सुरक्षा व्यवस्थाको लागि ध्यानाकर्षण गर्न चाहन्छु । साझा पार्टीले दण्डहिनताको अन्त्य, भ्रष्टाचारको अन्त्य, सहिष्णुतासहितको समाजको परिकल्पना गरेको जानकारी गराउन चाहन्छु ।
संयोजक
अर्जुन खनाल
साझा पार्टी, कास्की ।