एकअर्कामा शुभकामना साटासाट गरी मुस्लिम समुदायले ईद मनाउँदै

0
413

 

 

पाेखरा । आज रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी  इदुलफित्र (ईद) मनाउँदैछन् ।

यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा  छ ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ ।

ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।