सरकारले काेराेना संक्रमण बिरुद्ध लकडाउन बाहेक अरु केही गर्न सकेन:राप्रपा

0
411

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोनाको विरुद्ध नेपाल सरकारले लकडाउन गरेको दुई महिना विति सक्दापनि अपनाउनु पर्ने अन्य कार्य योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले देशमा विकराल स्थिति सिर्जना गरेको बताएको छ ।
पार्टीका अध्यक्ष पशुपतीशमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले आज एक ८ वुँदे ध्यानाकर्षणसहितको प्रेस विज्ञप्ति जारि गर्दै लकडाउनको समयलाई उपयोग नगरेर सरकारले औषधि बन्दोबस्त, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको आरोप लगाउनु भएको छ । विज्ञप्तिमा लेखिएको छ ः“अँझ औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको छ ।”
कोरोना संक्रमण विरुद्ध व्यवस्थापकीय पक्षमा नेपाल सरकारको लापरवाही हुनु चिन्ताको बिषय भएको, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थामा योजनाको अभाव, लापरवाही प्रवृति देखिएकोले जनता पिडित भएका राप्रपाले जनाएको छ । रोगको बढ्दो चापको भएकोले आउँदा दिनहरुमा सरकार निरिह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षतिहुन सक्ने सम्भावना बढेको तर सरकार वेखबर देखिएको उल्लेख छ ।
कोरोना नियन्त्रणको ठूलो जिम्मा स्थानीय तहमा दिईएको छ । तर साधन, श्रोत र स्पष्ट मार्ग निर्देशनको अभावमा स्थानीय सरकारहरुलाई प्रभावकारी बनाउन नसकिएको राप्रपाले जनाएको छ । साथै रोगको चपेटामा परेको समयमा पनि स्थानीय निकायहरु दलगत राजनीति भन्दा माथि उठ्न नसक्नु गम्भिर संकटको धोतक हो भनिएको छ ।
विज्ञप्तिमा लेखिएको छ ः“कोरोना पिडित ज्यालादारी मजदुर र सेवा क्षेत्रमा लागेका हजारौ व्यक्तिहरु आम्दानी विहिन भएका छन् । उनिहरुलाई प्रभावकारी रुपमा न राहतको व्यवस्था छ, न आफ्नो ठाउँमा जानको लागि कुनै सहयोग छ । हजारौ परिवार विचल्लिमा छन् र भोकभोकै रहने स्थिति छ । तर सरकार किंकर्तब्यविमुख रहेको छ ।”
भारतबाट हजारौको संख्यामा नेपाली देशमा आउँदैछन् । उनिहरुको स्वास्थ्य स्थिति बारे साधारण अनुगमन गर्न पनि राज्य असफल हुँदैछ । उनिहरु ग्रामीण क्षेत्रमा पुग्दा त्यसबाट कोरोना गाउँ–गाउँमा फैलिने सम्भावनाबारे राज्य आफ्नो जिम्मेवारीबाट पन्छिएको राप्रपाले जनाएको छ ।
कोरोनासँग लड्न सरकारको अहिलेसम्मको गतिविधि हेर्दा लकडाउन बाहेक अन्य कुनै प्रभावकारी प्रयास नगरेको र महिनौसम्म अर्थतन्त्र ठप्प हुँदा देशमा र विशेष दूर्गम क्षेत्रमा भोकमरीको खतरा बढेको राप्रपाको विज्ञप्तिमा जनाईएको छ ।
काठमाण्डौमा समेत श्रमिकहरु काम नपाएर तथा खान नपाएर मरेको खबर आईरहेको छ । यस्तो हुन नदिन, कसरी कोरोनाको महामारीको वेगलाई रोक्ने, अर्थतन्त्र चलायमान गराउने भन्ने दिशामा सरकारको कुनै चिन्तन नभएको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । यस्तो अवस्थामा राष्ट्रपतिको लागि करौडोको नयाँ कार्पेट, आन्तरिक सजावट तथा जिमखाना खरिद निर्माण गर्न सरकारी निर्णय पढ्दा जनताले आलो घाउमा नुनचुक छर्केको महसुस गरेका विज्ञप्तिमा लेखिएको छ ।
कोरोना नियन्त्रण गर्न उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायत भएको उच्च स्तरीय समिति रहेको छ । तर यो नेताहरुबाट कुनै विश्लेषण, चिन्तन र दिशावोध नदेखिएको, उच्च स्तरीय समितिको काम हालसम्म मन्त्रालयको एकजना उपसचिवबाट प्रत्येक दिन कसरी कोरोना बढेर गइरहेछ भन्ने संख्या दिनु बाहेक अरु केहि देखिएन भनि लखिएको छ ।
समष्टीमा कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन र निम्न आय भएका गरिब, ज्यालादारी मजदुर र असहाय जनताप्रति सम्वेदनशील भएर नेतृत्व दिने काम नेपाल सरकारले गर्न नसकेकोले यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पिडा र कष्ट भोग्नु पर्नेछ, राप्रपा लय अध्यक्षहरुले आज जारि गरेको विज्ञप्तिमा लेखिएको छ । राप्रपाले भनेको छ ः“यो वास्ताविकताप्रति हामी नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछौं ।”