टीकापुर । भजनी नगरपालिका वडा नं. ५ का रणबहादुर साउँद भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै भजनी पुगे । स्थानीय कर्मेश्वर मा.वि. कुटीमा बनाइएको क्वारेन्टाइनमा १४ दिन बसे । नगरपालिकाले आरडिटी चेक गर्यो । नतिजा नेगेटिभ आएपछि उनीसहित ८ जना घर गए । तर घर परिवारकै सदस्यहरुले घर पस्न दिएनन् । स्थानीयहरुले विरोध गरेपछि उनीहरु मिलन नर्सरी सामुदायिक वनमा त्रिपाल हालेर बसे । वरिपरि घना जंगल । चारैतिर खुल्ला, खाँमा खुट्टा गाँडेर बनाएको त्रिपालमुनि जंगलमै रात बिताए । ‘के निन्द्रा लाग्थ्यो र ? रातभर सुतेनौं, कतिबेला जंगली जनावरको डर कतिबेला सर्प, किराहरुको त्रास’ साउँदले भने ‘आफन्तहरुले नै घर बस्न नदिएपछि आधा सुत्ने, आधा जागाराम बसेर कुर्ने गर्दै रात बितायौं ।’ शुक्रवारदेखि पानी पर्न थालेपछि भने उनीहरु जंगलबाट बाख्रा राखिएको गोठमा बसेका छन् । ‘कोरोना भन्दा सर्प, किराहरुले ज्यान लिन्छन् कि भन्ने पीर छ’ साउँदले दुःखेसो गरे ‘पीसीआर चेक गरेको भए हामीलाई घरमै बस्न सजिलो हुने थियो । आरडिटी गरेपछि छिमेकीले नै घर जान दिएनन्, गोठको बास भएको छ ।’
आरडीटी चेकको भरपर्दो नभएको भन्दै स्थानीयले उनीहरुलाई घर आउन नदिएका हुन् । स्थानीय ईश्वर जोशीले भारतबाट आएका र स्थानीयबीच छलफल गरेरै वनमा बसाएको बताए । ‘मेरो छोरा र ज्वाँई पनि जंगलमै बसेका हुन्’ जोशीले भने ‘ती आफन्त हुन् तर रोग त आफन्त हुँदैन, त्यसैले हामीले त्यहाँ राख्ने सहमति गरेका छौं ।’
टीकापुर नगरपालिका वडा नं. ६ का वडा सदस्य लायकराम चौधरी राष्टिय मा.वि. बेलुवाको क्वारेन्टाइनमा बसेका थिए । भारतबाट आएका १८ महिलासहित ५५ जना रहेको क्वारेन्टाइन कुर्न उनी आफै बस्दै आएका छन् । शुक्रवार राति ११ बजे उनी शौचालय जान निस्किएँ । ढोकाको छेउमै झण्डै ५ फिट लामो करेंत सर्प देखेपछि उनी झस्किएँ । तराई क्षेत्रमा निकै बिषालु मानिने त्यो सर्पलाई क्वारेन्टाइनमा बसेकाहरुले मुश्किलले मारे ।
यी त केही उदाहरण मात्रै हुन् । भारतबाट आएकाहरुलाई राखिएका क्वारेन्टाइनहरु वर्षायाम लागेसँगै निकै असुरक्षित बनेका छन् । केही दिन यता पानी पर्न थालेपछि तराई क्षेत्रमा सर्पहरु निस्किने क्रम बढेको छ ।
‘क्वारेन्टाइन राखेपछि नै हामीले पाँच वटा सर्पहरु मारिसकेका छौं’ चौधरीले भने ‘दिउँसोको समयमा आउँदा खासै डर नभए पनि बालबालिकासहित महिलाहरु रहेको क्वारेन्टाइनहरु राति सर्प, विषालु किराको डर बढेको छ ।’
कैलालीमा भारतबाट आएकाहरुलाई विभिन्न विद्यालयहरुमा क्वारेन्टाइन बनाएर राखिएको छ । केही जीर्ण पुराना भवनहरु छन् । लकडाउन शुरु भए अघि नै विद्यालयहरु बन्द भएपछि सरसफाईको कमीका कारणले समेत क्वारेन्टाइनमा जोखिम बढ्दै गएको छ ।
‘वर्षायाम लागि सक्यो पुराना कच्ची भवनहरु छन्’ जनप्रकाश आधारभूत विद्यालय बाघमाराका शिक्षक रघुनाथ उपाध्यायले भने ‘वर्षायाममा सर्पको विशेषगरी डर छ, सरसफाई गरे पनि सर्प त आइहाल्छन् ।’
तराई क्षेत्रमा भुइँतलामा रहेका विद्यालयहरु निकै असुरक्षित भएको कर्णाली मा.वि. टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताए । ‘सबै विद्यालयमा झ्याल ढोका पनि त्यत्ति राम्रा छैनन्’ शर्माले भने ‘भुइँतलामा वर्षायाममा सर्प, भ्यागुत्ता, विषालु किराहरुको जोखिम रहेको छ ।’
वर्षायाम लाग्दै गर्दा विषालु सर्प, किराहरु मात्रै नभएर हावाहुरीको समेत जोखिम बढेको छ । टिनको जस्तापाताले छाएका विद्यालयहरु हावाहुरीले समेत उडाउने गरेको छ । विद्यालयमा बनाइएका क्वारेन्टाइनहरुमा हावाहुरी आएर थप जटिलता हुने क्वारेन्टाइनमा बस्दै आएकाहरु बताउँछन् ।
फोटोः १. राष्टिय मा.वि. बेलुवामा भेटिएको करेंत सर्प । परमानन्द ।