पाेखरा ।नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुदैछ ।
सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुने भएको हो ।
संसदले विधेयक पारित गरेसँगै संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
संसद सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् ।
लिम्पियाधुरासहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।
नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् । गएको जेठ २७ गते प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
जनता समाजवादी पार्टीका सांसदलेसमेत विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् । पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तर, समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने सरकारले ल्याएको नयाँ नक्साअनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।
पार्टीको नीतिविपरीत गिरीले संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।