काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले जन स्तरबाट उठेका मागहरु सम्बोधन गर्न आनाकानी गरेको र कमिसनमा मात्रै लिप्त भएको भन्दै तीन जना वडा अध्यक्ष सहितका जनप्रतिनिधिले नगर परिषद बहिष्कार गर्ने निर्णय गरेका छन् । नगरपालिकाले आइतवारबाट यती ग्रुपको गोकर्ण फरेष्ट रिर्सोटमा नगर परिषद गर्ने निर्णय गरेको बताइएको छ । नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर समितिको शनिवार बसेको बैठकमै उपस्थित भएर वडा अध्यक्ष सहितका प्रतिनिधिले आवश्यक परे नारा जुलुस र कालो झण्डा सहित नै उपस्थित हुने उनीहरुले बताए । नगर परिषद आयोजना गर्ने तयारी भएको गोकर्ण फरेष्ट रिर्सोट बाहिर आइतवार विहानैबाट प्रर्दशन गर्ने र कालो झण्डा देखाउने निर्णय पनि सो बैठकले गरेको छ ।
नेपाली काँग्रेस नगर संघर्ष समितिले २०७६ कात्तिक २६ गते नै विभिन्न २७ बुदे माग राख्दै विरोधका कार्यक्रम शुरु गरेको थियो । कागेश्वरी नगरपालिकाले गत पुस १ गते वार्ताका लागी आब्हान गरेको थियो । तर वार्ताको नाममा मेयरले नाटक मात्रै मंचन गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।
मेयरले स्वेछाचारी ढंगले काम गरेको भन्दै वडा नम्वर दुई का अध्यक्ष सुर्दशन धिमाल, ४ का भाईकाजी तिवारी र ७ का जीवन थापाले संयुक्त रुपमा हस्ताक्षर गर्दै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले यथास्थितिमा नगर परिषदमा सहभागी हुन नसक्ने पनि बताएका छन् । समाधानका लागी मेयरले आजसम्म कुनै पनि पहल नगरेको दावी नेपाली काँग्रेस काठमाडौ क्षेत्र नम्वर दुईका क्षेत्रिय सभापति उपेन्द्र कार्कीको छ । उनका अनुसार बुदाको पहिलो नम्वर नै आजसम्म पनि सम्बोधन भएन । त्यो बुदामा नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकलाई दिइनु पर्ने तलव नै प्राप्त भएको छैन । यत्रो कोरोनाको महामारीका बेला त्यसै त राहत दिनु पर्नेमा तलव नै दिन पनि आनाकानी गर्ने मेयरलाई के भन्ने ? उनले प्रश्न गरे । उनका अनुसार तत्कालिन नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद र अन्य नेताहरुले भन्दा समेत मेयरले वेवास्ता गरेका छन् ।
मेयर थापा नेकपाका नेता माधव नेपालसँग निकट सम्बन्ध भएका ब्यक्ति हुन् । विश्व नै कोरोनाको महामारीले आक्रान्त भएको बेला नगरपालिका ६० करोडको भवन बनाउनका लागी बोलपत्र आब्हान गर्दै हिडेको आरोप पनि काँग्रेसको छ । गत जेठ ७ गतेको गोरखापत्रमा नगरपालिकाको ब्यबसायिक भवन निर्माणको बोलपत्र आब्हान गरिएको छ । त्यसका लागी डाँछी थलीमा रहेको कान्ति भैरव माध्यामिक विद्यालयको स्वामित्वमा रहेको सात रोपनी खाली जमिन प्रयोग गर्ने तयारी पनि नगरपालिकाले गरेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार ३० बर्षको लागी नगरपालिकाले सो जमिन भाडामा लिएर ब्यापारिक भवन निर्माण गर्न लागेको हो । कुनै बेला ठुलो फुटवल मैदानकै रुपमा रहेको थलीको सो जमिन चारै तिरबाट अतिक्रमित हुदै र अब्यवस्थित निर्माणका कारण अहिले खुम्चिएर ४० रोपनी भन्दा पनि कम क्षेत्रफलमा सीमित भएको छ । २०२१ सालको नापीमा सो जमिनको क्षेत्रफल ५८ रोपनी ४ आना २ पैसा थियो । अवको आन्दोलनको स्वरुप कडा हुने र नगरपालिका भित्र भएका सवै अनियमितताको भण्डाफोर गर्ने अभियानमा केन्द्रित हुने जानकारी संघर्ष समितिका संयोजक शंकर थापाले दिए । मेयरले नगरपालिका भित्र भएका विभिन्न विकास निर्माणका काममा ठेकेदारहरुसँग मिलेर आर्थिक लाभ लिने गरेको आरोप समेत उनी माथी लाग्दै आएको छ ।