कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि,पर्सामा १९ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने

0
501

वीरगञ्ज ।कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि पर्सामा १९ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।  कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताए ।

कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी  कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ । पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश संक्रमितलाई घरमै राखिएको छ । लक्षण सहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ । होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाईएको छ ।