पाेखरा। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भए सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको हो ।
कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पर्सामा कोरोनाले बुधबार दुई जनाको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका-८ की १८ वर्षीया युवतीमासमेत गएराति कोरोना पुष्टि भएको छ।
त्यसैगरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।