भीमलाल लामिछाने
सनातन धर्म सेवा समितिका अभियन्ता, पत्रकार तथा लेखक रबीन्द्र माकाजूद्वारा लिखित तथा प्रकाशित पुस्तक “व्यक्ति र व्यक्तित्व”– २०७७ लेखककै सौजन्यतामा प्राप्त भई पढ्ने मौका पाएँ । पुस्तकको नाम व्यक्ति र व्यक्त्वि भएपनि पुस्तकको अगाडिको मुखपृष्ठको तस्विरमा माछापुच्छ«े हिमाल र त्यसको तल्लो भागको पहाडी दृष्य रहेकोले मुखपृष्ठ अनुसार पुस्तकको नाम प्राकृतिक सुन्दरता राखेको भए मुखपृष्ठको सार्थकता हुनेथियो जस्तो लाग्यो तर पुस्तक भित्र दिइएका पोखराका व्यक्तित्वहरूको जीवनी पढ्दा पुस्तकको मुखावरणमा पोखराका तिनै शीर्ष व्यक्तिहरूको तस्विर राखेको भए पुस्तकको शीर्षकले सार्थकता पाउने थियोजस्तो पनि लाग्यो ।
त्यसै गरी पुस्तकको पछाडिको पृष्ठ हेर्दा लेखकका प्रकाशित कृतिहरू भनेर धारवाहिक नाम दिइएको रहेछ । लेखकले लेखेका सबै कृतिको सङ्ख्या जोड्दा ५० पुगेको देखिन्छ । लेखकको जन्ममिति, योग्यता सहितको परिचय नदिइएको भएपनि लेखक सालाखाला ५०–५५ वर्षको जस्तो देखिने हुनाले ५०–५५ को जस्तो देखिने व्यक्तिले ५० वटा कृति लेखिसकेको देखिँदा ५ वर्षकै उमेरदेखि वर्षको एउटा किताब लेखेको तथ्याङ्क मिल्न आउँछ । लेखकका अन्य कृतिहरू थोरै पृष्टका, पुस्तकको आधाजति भागमा तस्विर रहेका भएपनि प्रस्तुत पुस्तकको आकार चाहिं स्तरीय छ, पृष्ठ १६६ रहेको र करिव एकचौथाइ जति भागमा तस्विर रहेको देखिन्छ । कागज गुणस्तरीय जस्तो लागेन ।
पुस्तकमा २१ वटा पोखराका अग्रज व्यक्तिहरूको जीवनी उल्लेख गरेर उनीहरूले गरेको सामाजिक, धार्मिक, साहित्यिक तथा राजनैतिक व्यक्तित्वको छोटकरी विवेचना गरेको पाइयो । लेखकको भनाइअनुसार राजधानीका व्यक्तिको तुलनामा मोफसलका लेखक, कवि तथा सामाजिक एवं धार्मिक अभियन्ताहरूको व्यक्तित्वको पहिचान सार्वजनिक हुँदैन, ओझेलमा परेको हुन्छ । त्यस्तो व्यक्तिहरूलाई सार्वजनिक गराउने उनको चाहना रहेको कुरा आफ्नो भूमिकामा प्रष्ट्याइएको पाइन्छ । पुस्तकका २१ वटा लेखमध्ये पहिलो लेख रहेको छ – पोखरा नालामुखका सामाजिक अभियन्ताकेदारप्रसाद वजिमयको । यी केदारप्रसादले संस्कृत शिक्षाको पनि अध्ययन गरेकाले धार्मिक तथा सांस्कृतिक विधामा गहिरो रुचि रहेछ । २००७ सालको राजनैतिक क्रान्तिताका नेपाली काङ्ग्रेसका नेता श्रीभद्र शर्मा र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ राजनीतिक आन्दोलनको सिलसिलामा पोखरामा आउँदा वहाँहरूलाई आवस्यक सहयोग गरेर समाजमा राजनैतिक चेतना फैलाउने काममा उल्लेखनीय काम गरेको कुरा लेखकले व्यक्त गरेका छन् ।
पोखरामा २००६ सालमा आदर्श पुस्तकालयको स्थापना गर्ने संस्थापकमध्येका यी केदारप्रसाद पनि भएकाले शैक्षिक क्षेत्रमा यिनको नाम अग्रपङ्तिमा आउँदो रहेछ । त्यस्तै २०१४ सालमा पोखराको नदीपुरस्थित वुद्ध बिहारमा कन्यास्कूलको स्थापना गरेकामा पछि उक्त स्कूललाई नदीपुरको खुलाचौरमा श्री ५ रत्न कन्यास्कूलको नाममा स्थानान्तरण गरिएको कुरा पुस्तकमा पढ्न पाइन्छ । यस्तै नारीलाई प्रोत्साहन गर्ने हेतुले यिनले नारी विकास पुस्तकालय स्थापना गरेकामा पछि उक्त पुस्तकालय आदर्श पुस्तकालयमा सामायोजन भएको रहेछ । पोखराको नालाकोमुखमा रहेको २५० वर्ष पुरानो शिव मन्दिर जीर्ण भएकोले काठमाण्डौबाट कालीगढ मगाएर मर्मत सुधार गराएका रहेछन् । त्यतिमात्र होइन, पोखरामा हुने नेवारी सांस्कृतिक धार्मिक कार्यक्रमहरूमा पनि धेरै सहयोग गरेर संस्कृति बचाउने काममा सक्रिय भएका रहेछन् । त्यसैले यी १९९१ सालमा जन्मेका केदारप्रसाद वजिमयलाई विभिन्न धार्मिक सङ्घ संस्थाहरूले यिनको सम्मान स्वरूप सम्मानपत्र, कदरपत्रद्वारा सम्मान गरिएको कुरा लेखकले उल्लेख गरेका छन् ।
पर्वत कुस्मामा जन्मेका सामाजिक एवं राजनैतिक क्षेत्रमा सक्रिय कृष्णवहादुर जोशीको हालको कर्मथलो भएको छ– पोखराको रामबजार । यिनले २००६ सालमा सर्वप्रथम पर्वतको कुस्मामा नेपाली काङ्ग्रेसको समिति गठन गरेर राणा सरकारको विरुद्धमा आन्दोलन सुरु गरेका रहेछन् त्यतिबेलाको पर्वत स्याङ्जाको प्रशासनिक एकाइ थियो । त्यति बेलाको स्याङ्जा अर्थात् प.४ नं इलाका भन्नाले स्याङ्जाकै नुवाकोट, भीरकोट, गह्रौं, सतौं, पैयौं र पर्वत गरी ६ क्षेत्र मिलेर बनेको थियो । पछि २०१८ सालमा नयाँ प्रशसनिक वाँडफाँड हुँदा मात्र पर्वत छुट्टै जिल्ला बनेको हो । यी कृष्णवहादुर जोशी राजनैतिक प्रकृतिमा भएकाले केन्द्रीय नेताहरूसँग सम्वन्ध राखेर प्रजातान्त्रिक आन्दोलन चर्काएका रहेछन् ।
पूर्व भारतीय सैनिकहरूलाई सङ्गठीत गरेर मुक्तिसेना गठन गरी राणा शासन विरुद्ध सङ्घर्ष गर्ने काममा यी कृष्णवहादुरको त्यस क्षेत्रमा प्रमुख हात रहेछ । तिनै मुक्तिसेनाको सहयोगले पर्वतको कुस्मास्थित छोटी जङ्गी अड्डा कब्जा गरी सरकारी हातहतियारसमेत लुटेर क्रान्ति सफल बनाएका रहेछन् । यसै गरी बाग्लुङमा पनि जनसरकार गठन गरी स्वतन्त्रताका लागि सङ्घर्ष भएको रहेछ । यसरी प्रजातन्त्रका लागि सङ्घर्ष गरेका पर्वत कुस्माका कृष्णवहादुर जोशी २००७ सालदेखि २०१७ सम्म लगातार १० वर्ष पर्वतको नेपाली काङ्ग्रेसको सभापति भएर राजनीतिक व्यक्तित्व निर्माण गरेका रहेछन् । १९८६ सालमा जन्मेका यिनी अहिले ९० वर्षका हुँदा पनि सक्रिय छन् र यिनलाई जिउँदो शहीद, स्वतन्त्रताका सेनानीजस्ता उपाधिले सम्वोधन गरिदों रहेछ । यस्ता व्यक्ति राजधानीमा भएको भए गणेशमान सिंहको जस्तै सम्मान र चर्चामा आउने थिए, तर मोफसलमा भएकाले ओझेलमा परेको कुरा लेखककले उल्लेख गरेका छन् ।
भजन गायक डम्बरलाल, कामाजू भन्ने लेखमा लेखकले आफ्ना पिताको वर्णन सामान्य ढङ्गले गरेका रहेछन् । पोखराका फूटबल खेलाडी, भजन गायक, शिक्षकजस्ता उपाधिले सम्वोधन गरिने लेखकका पिता डम्वरलाल माकाजू १९८७ सालमा जन्मेका २०१० सालतिर १० कक्षा पढिसकेपछि कास्कीको लाहचोक, घाचोक, अर्मला, भरतपोखरीजस्ता गाउँका स्कूलमा शिक्षक भएका एकातरि देखाएका छन् भने अर्काेतिर पोखराको विजय फूटबल टिमबाट फूटबल खेलेर खेलाडी भएको कुरा पनि देखाएका छन् । त्यसको अतिरिक्त वहाँले पोखराका मन्दिरहरूमा भजन गाएर सांस्कृतिक मनोरञ्जन पनि गरेका; नेवारी समुदायमा हरेक वर्ष हुने गाईजात्रामा परी भएर नाचेर नेवारी संस्कृतिको जगेर्ना गरेको कुरा उल्लेख गरेका छन् ।
स्काउटका गुरु हेरम्वप्रसाद कोइराला भन्ने लेखमा पोखरामा स्काउटलाई भित्र्याइएको यिनै हेरम्वप्रसादले हो र स्काउटकै माध्यमबाट फ्रान्स, जर्मनी, थाइल्याण्ड, बङ्गलादेश, मलेशिया, अष्ट्रेलिया आदि देशहरूमा नेपालबाट स्काउटको प्रतिनिधिको रूपमा भाग लिएर यिनले ख्याति कमाए । हेरम्वप्रसादको जीवनको मुख्य पेशा त स्कूलको शिक्षक हो, शिक्षक भएरभन्दा बढी काम स्काउट भएर गरेको कुरा लेखकको दाबी छ । हेरम्वप्रसादजस्ता स्काउट त पोखरामा मात्र होइन, नेपालभरमा अरू पनि धेरै भए, तर उनले नेपालकै नाम राख्ने गरेर ख्याति कमाए । पोखरामा मात्र होइन, नेपालमा नै स्काउटको नाम लिनासाथ हेरम्वप्रसाद कोइरालाको नाम अग्रपङ्तिमा आउँछ ।
सधैं हसिलो र फूर्तिलो देखिने १९८६ सालमा जन्मेका यी हेरम्वप्रसाद ८ दशकको आयु पार गरिसक्दा पनि जवानजस्तै देखिन्छन् । यो अवस्था हुनु स्काउटकै देन हो भन्ने यस पङ्तिकारको पनि ठहर छ । यी हेरम्वप्रसादले शिक्षकको अतिरिक्त कोइराला समाजको अध्यक्ष, शिक्षक सङ्घको उपाध्यक्ष, नेपाल स्काउटको राष्ट्रिय सचिवजस्ता राष्ट्रियस्तरका सार्वजनिक सेवाका पदमा रहेर पनि काम गरेको देखिन्छ । त्यसको अतिरिक्त विभिन्न स्कूलको प्र.अ. भएर पनि काम गर्नु भएको पाइन्छ । सारांशमा हेरम्वप्रसाद कोइराला पोखराका एक शैक्षिक, सामाजिक तथा धार्मिक अभियन्ता हुन् । उनलाई देख्नासाथ एक असल स्काउटको सम्झना आउँछ मेरो मानसपटलमा पनि । यी हेरम्वप्रसादविभिन्न सङ्घ संस्थाबाट सम्मान हुँदै सम्मानपत्र, कदरपत्रद्वारा सम्मानित भएका छन् । उनलाई पोखराका एक शैक्षिक र सामाजिक रत्न मानिन्छ ।
ज्ञानमाला भजनका सर्जक सुवर्ण बज्राचार्य भन्ने लेखमा पोखराको मोहरिया टोलमा आजभन्दा ८० वर्ष अगाडि १९९७ सालमा जन्मेका सुवर्ण बज्राचार्य पोखराका भजन गायकमध्येका कुशल गायक रहेछन् । पोखराकै नदीपुरस्थित धर्मशीला बुद्ध विहारमा हरेक शनिवार बिहान उनले भजन गाएर श्रद्धालु श्रोतालाई मन्त्रमोह पार्दछन् । उनका पिता पनि सङ्गीतमा रुचि राख्थे र भाइ सरोज गोपालले त रेडियो नेपालबाट गीत गाएर ख्याति कमाएका थिए । उनको परिवार नै सङ्गीत पारखी भएको देखिन्छ । सङ्गीतमा मात्र होइन, नाटकमा पनि राम्रो दखल रहेछ सुवर्ण बज्राचार्यको । ९–१० वर्षको कलिलो उमेरमा नै पोखरामा उस बेलाका बडाहाकिम धनशमशेरको दरवारमा भएको नाटकमा बाल कलाकारको रूपमा भाग लिएका कुराले पनि उनी सङ्गीत र नाटकमा विशेष पारखी भएको कुरा थाहा हुन्छ । बडाहाकिम धनशमशेर राणाले खुसी भएर उनलाई सुनको असर्फी प्रदान गरेका रहेछन् । उनले रेडियो नेपालबाट गीत गाउने मौका पाएका र शैक्षिक भ्रमणमा भारतको दिल्लीमा जाँदा त्यहाँको अल इण्डिया रेडियोको नेपाली कार्यक्रमबाट पनि गीत गाउने मौका पाएका रहेछन् । २०४४ सालदेखि पोखराको ज्ञानमाला भजन सङ्घमा प्रवेश गरेर नेवारी भाषामा भजन गाउँदा नेवारी समुदायले मात्र बुझ्ने हुनाले नेपाली भाषामा भजन गाउँदा सबै नेपालीले बुझ्ने हुनाले नेपाली भाषामा भजन गाउने परिपाटीको विकास यिनै सुवर्ण बज्राचार्यले चलाएका रहेछन् । बुद्ध धर्मका अनुयायी सुवर्ण बज्राचार्यले धेरै गीत, भजन रचना गरेका रहेछन् । पोखराका थुप्रै सङ्घ संस्थाले उनमा भएको कलाको सम्मान गर्दै अनेकौं कदरपत्र, सम्मानपत्रद्वारा उनलाई सम्मान गरेको कुरा पनि लेखकले उल्लेख गरेका छन् ।
गाउँको विकासमा मेजर दिलबहादुर गुरुङ भन्ने लेखमा स्याङ्जाको फेदीखोला अन्तरगत गल्याङ्मा वि.सं. १९९६ सालमा जन्मेका दिलबहादुर गुरुङ ब्रिटिश आर्मीमा २९ वर्ष नोकरी गरेर अनरेरी मेजरको पदबाट अवकाश लिई पोखराको बगालेटोलमा स्थायी बसोबास गरेका छन् । नोकरीको समयमा बिभिन्न १५ भन्दा बढी देशमा घुमेका गुरुङले अवकाशपछि पनि सुर्खेतमा सन् १९८६ देखि १९९० सम्म वेलफेयर अफिसरको जिम्मेवारी समाल्ने मौका पनि पाए । त्यतिमात्र होइन, आफ्नै जन्मस्थानमा रहेको शीतल मा.वि. मा २२ वर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष भएर शैक्षिक क्षेत्रमा पनि सङ्लग्न भए । त्यसको अतिरिक्त स्याङ्जा फेदीखोला अन्तरगत सर्केटारीबाट पञ्चासेसम्मको १७ कि.मि. बाटो खनाएर विकास निर्माणको काममा समेत ठूलो योगदान गरेका रहेछन् । यिनै कामको कदरस्वरूप राष्ट्रपतिबाट प्रवल जनसेवा पदकबाट विभूषित हुने मौका पाए भने इटलीको रोमबाट सन् २०१८ नोभेम्वर २९ मा अन्तर्राष्ट्रियस्तरको भोलिन्टिएर अर्वाड प्राप्त गरेर नेपालको सान् बढाएका छन् । त्यसबाहेक थुप्रै कदरपत्र सम्मानपत्र, दोसल्ला पाएर पनि सम्मानित भएको कुरा लेखकले उल्लेख गरेका छन् ।
सामाजिक सेवामा समर्पित वेदनिधि शर्मा अधिकारी भन्ने लेखमा कास्कीकोटको ठूली पोखरी भन्ने पहाडी भूभागमा वि.सं. १९९६ मा जन्मेका वेदनिधि सादा जीवन उच्च विचारका अगुवा भएका र सामान्य कृषकबाट उठ्दै एक कपडा व्यापारी हुँदै जीवनको उत्तराद्र्धमा सामाजिक एवं धार्मिक अभियन्तामा परिणत भएका छन् । नोकरी गर्ने क्रममा कहिले गाउँ पञ्चायतको सचिव, कहिले प्रहरी जवान र कहिले विद्यालयको शिक्षक भएर काम गरेका रहेछन् । पोखरा–५ मा धर्मस्थली विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर आफ्नै नीजि खर्चमा विद्यालय भवन तथा शिवालय मन्दिर पनि बनाइदिएका रहेछन् । विश्वहिन्दु महासङ्घका तत्कालीन अध्यक्ष पं. नारायणप्रसाद पोखरेलको कार्यसमितिमा केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै हाल सल्लाहकार रहेका छन् । कास्कीको ढिकुरपोखरीमा रहेको माछापुच्छ«े क्याम्पसमा आफ्नै मातापिताको नाममा अक्षयकोष खोलेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष पुरस्कार दिने व्यवस्था गरेका रहेछन् । जोतिष शास्त्रमा पनि राम्रो ज्ञान भएका अधिकारीलाई उनको सामाजिक तथा धार्मिक कामको मूल्यांकन गरेर विभिन्न सङ्घ संस्थाहरूले उनलाई सम्मानपत्र, कदरपत्रद्वारा सम्मान गरेका कुरा लेखकले उल्लेख गरेका छन् ।
आध्यात्मिक जगत्को एक सुन्दर फूल राजयोगिनी परिणीता भन्ने लेखमा हाल पश्चिमाञ्चल क्षेत्रका राजयोगिनी ब्रह्माकुमारी परिणीता निर्देशक पदमा छन् र उनका पिता भारतको गोरखपुरमा सैनिक सेवामा रहेकै समयमा २०१५ सालमा उनको जन्म भएको थियो । सानै उमेरदेखि ईश्वरीय विश्वविद्यालयमा रुचि भएकी परिणीता दिदी १३ वर्षको कलिलो उमेरमा नै उक्तसंस्थामा समर्पित भएकी रहेछिन् । त्यहाँबाटै वनारसमा तपस्या साधनामा भाग लिएर घरपरिवार मातापिता सबै त्यागेर ईश्वरीय विश्वविद्यालयमा समर्पित उनी राजयोगिनी सुरेन्द्र दिदीसँग नेपालको भैरहवामा सरिक भएकी रहिछिन् । उनको लगनशीलताबाट प्रभावित भएर उनका हजुरबुबाले एउटा घर उक्त संस्थाको आश्रमलाई दान दिएर उदाहरणीय काम गरिदिएका रहेछन् । जीवनको उर्वरावस्था यसै संस्थामा समर्पित गरेकी राजयोगिनीको कार्यकालमा पश्चिम नेपालमा १५० भन्दा बढी उक्त संस्थाका शाखा विस्तार भएका छन् । विगत ४० वर्षदेखि उनी यसै संस्थामा लागिरहेकी छन् र कैयौं ब्रह्माकुमार, ब्रह्माकुमारी उनकै सत्प्रेरणाले उक्त संस्थामा समर्पित भएका छन् । विभिन्न सङ्घ संस्थाबाट उनको कार्यको प्रशंसा गर्दै थुप्रै सम्मानपत्र, कदरपत्र प्रदान गरिएको छ । पोखरा नयाँ बजारमा शिक्षा सेवी गणेश गुरुङको परिवारबाट दानस्वरूप जमिन प्राप्त भएर त्यहाँ बनेको भवनबाट हाल उक्तविश्वविद्यालयको गतिविधिहरू सञ्चालन भइरहेका छन् । यिनै परिणीता दिदीकै कार्यकालमा पोखराको वडा नंं ११ को फूलवारीमा २१ करोडको लागतमा विश्वशान्ति अनुभूति केन्द्र बन्दैछ । यस पुस्तकमा समावेश गरिएका व्यक्तित्वहरू सबै ८० वर्ष नाघेका रहेकामा यी परिणीता दिदी मात्र भरखरै ६० वर्ष नाघेकी छन् ।
शिक्षा सेवी चतुरमान श्रेष्ठ भन्ने लेखमा भक्तपुरबाट पोखराको लामाचौरमा आएर कर्मथलो बनाएका जयनरसिंहका चौथा पुस्ताका चतुरमान श्रेष्ठको जन्मथलो लामाचौर भए पनि कर्मथलो चाहिं कहिले मुस्ताङ र कहिले पोखरा गर्दागर्दै अन्ततः कास्कीकै हेमजाको गौरीशङ्कर मा.वि. हुन गएको रहेछ । विहानमा पोखराकै पृथ्वीनारायण क्याम्पसमा पढ्ने र दिउँसो गौरीशङ्कर मा.वि.मा पढाउँदै गरेका रहेछन् । कैयौं शिक्षकहरूले शिक्षकको नोकरी छाडेर सरकारी नोकरीमा गए पनि वि.सं. १९९३ सालमा जन्मेका चतुरमानले भने विद्यार्थीलाई पढाएरै बस्न मन पराएछन् । पोखरा–काठमाडौंको बाटो नबन्दै २०१४ सालमा हिंडेरै काठमाडौं गएर एस.एल.सी. जाँच दिएका चतुरमानले ६ दिनमा काठमाडौं पुगेका र ६ दिनको खाना खर्च जम्मा रु ४÷५ लागेको कुरा उक्त किताबमा पढ्न पाइन्छ । पृथ्वीनारायण कलेजको आई.ए. को प्रथम व्याजबाट आई.ए.पास गरेका चतुरमानको बी.ए. पनि सोही कलेजबाट गरेका र वी.एड. को तालिम लिएर परिपक्क शिक्षक भएका रहेछन् ।
चित्रकार गोपाल श्रेष्ठ भन्ने लेखमा पुख्र्यौली घर पोखराको बगरमा भएपनि पछि पोखराकै महेन्द्रपुलमा उनका पुर्खा सरेका रहेछन् । २००५ सालमा जन्मेका गोपाल श्रेष्ठले एस. एल.सी. प्राइभेट दिएर पास गरेका, पृथ्वीनारायण क्याम्पसमा आई. ए. पढ्दै गर्दा शिक्षकको नोकरी गर्न पुगेका रहेछन् । शिक्षक भएर पढाउँदै गर्दा अहिलेका प्रदेश साँसद विन्दुकुमार थापा गोपाल श्रेष्ठका विद्यार्थी रहेछन् । त्यसपछि शिक्षकको जागिर छाडेर सरकारी कर्मचारी भएकामा सरकारी जागिर पनि छोडेर बैंकको जागिर खान पुगेका रहेछन् ।
त्यसपछि वैंकको जागिर पनि छोडेर २०२८ सालबाट पोखराको तेर्सापट्टीमा गोपाल आर्ट नामको आर्ट पसल खोलेर आफूमा भएको कलाकारितालाई प्रकाशमा ल्याउन थालेका रहेछन् । २०२९ सालबाट राजा वीरेन्द्रको क्षेत्रीय भ्रमण हुन थालेपछि उनलाई कलाको काम गर्न भ्याइनभ्याइ हुन थालेछ । आफू कलाकार भएकोले नेवारी समाजमा प्रचलित गाईजात्राजस्ता पर्वमा नाचेर पनि कलाको प्रदर्शन गर्दा रहेछन् । कलाकै सन्दर्भमा विदेशमा गएर सीप बटुल्ने मौका पाएछन् – अरनिकोले चीनमा गएर कला प्रदर्शन गरेजस्तै । पछि ओशो ध्यान साधनामा लागेर आफ्नो पसलको नाम पनि ओशो आर्ट ग्यालरी राखेका छन् । उनको कलाको सम्मान गर्दै विभिन्न देश विदेशका सङ्घ संस्थाहरूले उनलाई कदरपत्र, सम्मानपत्रद्वारा सम्मान गरेका कुरा लेखकले उक्त पुस्तकमा लेखेका छन् ।
नामुद कलाकार यादवचन्द्र भुर्तेल भन्ने लेखमा २००३ सालमा पोखराको पस्र्याङमा जन्मेका भूर्तेलले पोखराकै तत्कालीन सेल्जर्स बोर्ड भोकेशनल ट्रेनिङ हाईस्कूलबाट एस.एल.सी. पासगरी काठमाडौंको त्रिचन्द्र कलेज, ललितकला कजेल, रामपुर कलेज चितवन समेतमा अध्ययन गरी वी.ए.÷वी.एस्सी एग्रिकल्चर सम्मको शिक्षा हालिस गरी पोखरामा आफैले पढेको स्कूलमा अध्यापन गरी सेवा निवृत्त भएका छन् । यी यादवचन्द्र भूर्तेल एक सिद्धहस्त कलाकार भएकाले शिक्षकबाट अवकाश भएपछि पनि विभिन्न रङ्गका कला सृजना गरेर स्वदेशी र विदेशीको मन जित्न सफल भएका छन् । उनको हातमा सधैं ब्रुश र मासिदानी रहिरहेको हुन्छ । उनले कोरेका अद्र्धनग्न तस्विर विदेशीले ज्यादै मन पराउँछन् । उनले आफ्ना कलाकृतिलाई आफ्ना सन्ततिजस्तै सम्मान गर्छन् । उनको घरमा उनका कलाकृतिको ठूलो संग्राहलयबनाएका छन् । उनको कलाकृतिको सम्मान गर्दै विभिन्न सङ्घ संस्थाहरूले उनलाई नगदसहित सम्मानपत्र कदरपत्रद्वारा सम्मान गरेका छन् । उनी पोखराको सम्पति मानिन्छन् ।
बौद्ध अर्घाै सदनका संस्थापक ना.सु बिलवहादुर गुरुङ भन्ने लेखमा स्याङ्जाको फेदीखोला अन्तरगत बाङ्गेफड्केमा वि.सं. १९९० मा जन्मी २००८ मा भारतीय सैनिकमा कार्यरत रहेकामा २०२५ मा नायब सुवेदार पदबाट निवृत्त भएका बिलवहादुर गुरुङ हाल पोखराको बुद्धचोकमा स्थायी वसोवास गर्दै आएका छन् । लेखको शीर्षकमा ना.सु. बिलबहादुर भनिएकोले सरकारी कार्यलयमा काम गर्ने नायव सुव्बा अर्थात् ना.सु होलान् भन्ठानेकोमा उनी त भारतीय सेनामा काम गर्ने नायव सुवेदार रहेछन् । यी नायब सुवेदार बिलबहादुरले भारतमा नोकरीमा रहेको बेलामा बिदामा गाउँमा आएको समयमा आफ्नो गाउँको समाधिस्थल (चिहान डाँडो)को व्यवस्थापन र विद्यालयको व्यवस्थापन गरेर सामाजिक कामको थालनी गरेका रहेछन् । सेवाबाट निवृत्त भएपछि सर्वप्रथम विभिन्न पहाडी भूभागबाट पोखरामा उपचारमा आउँदा मृत्यु भएर अलपत्र पर्ने गुरुङ समुदायको समाधिस्थल नभएकोले पोखरा नगरपालिकाको सिफारिसमा गीता मन्दिरको पश्चिमी भागमा सेती नदीको किनारामा १४ रोपनी ७ आना जग्गामा लास जलाउने स्थान र पूजा, प्रार्थना गर्ने बौद्ध अर्घाैं सदनको व्यवस्था गरेर उदाहरणीय काम गरेका रहेछन् । त्यसको अतिरिक्त पोखरामा बिभिन्न समूहमा रहेका बुद्ध धर्मावलम्बीहरूलाई सङ्गठित गरी संयुक्तरूपमा बुद्ध जयन्ती मनाउने परम्परा कायम गरेका, कास्कीको पचभैयामा रहेको विपष्यना ध्यान केन्द्रमा अक्षयकोष राखेका, आफूले खोलेको आफ्नो गाउँको विद्यालयमा पनि अक्षयकोष राखेका, पोखरा रामघाटस्थित कालीका मा.वि.को व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेकाजस्ता कार्यको मूल्याङ्कन गरेर उनलाई विभिन्न सङ्घ संस्थाबाट सम्मान गर्दै सम्मानपत्र, कदरपत्रद्वारा सम्मान गरिएको कुरा लेखकले पुस्तकमा उल्लेख गरेका छन् ।
समाज सेवाको क्षेत्रमा नरेन्द्रमान लालचन भन्ने लेखमा स्याङ्जाको विरुवामा २००५ सालमा जन्मेका नरेन्द्रमान लालचन आफ्ना हजुरबुबाको प्रेरणाले सामाजिक कार्यमा संलग्न हुन पुगेका रहेछन् । पोखराको महेन्द्रपुलमा होटल सनराइज खोलेका, क वर्गका ठेकेदार, बुद्धजयन्ती मूल समारोह समितिका अध्यक्ष, पतञ्जली योग समितिको केन्द्रीय सदस्य, सिद्धि–सेतुली–स्मृति प्रतिष्ठानको अध्यक्ष, मुस्ताङको मार्फाको जनवाल मा.वि.का सचिव, पोखराको मार्फा थकाली समाजमा अध्यक्षजस्ता विभिन्न सङ्घ संस्थाको सामाजिक कार्यमा सङ्लग्न रहेर सामाजिक कार्य गरेको कुरा लेखकले उल्लेख गरेका छन् । हाल उनी पोखरा बहुमुखी क्याम्पसको अध्यक्ष भएकोमा उक्त क्याम्पसको आफ्नो भवन नभएकोले पोखरा नगर विकास समितिबाट पोखरा–९, शान्तिबनमा प्राप्त करिव ४ रोपनी जग्गामा एक अध्याधुनिक भवन बनाउने कार्यमा सक्रिय रहेकोजस्ता कार्यले वहाँलाई विभिन्न सङ्घ संस्थाबाट सम्मानपत्र, कदरपत्रद्वारा सम्मान गरिएको कुरा लेखकले उल्लेख गरेका छन् ।
वरिष्ट वनस्पती शास्त्री डा. राधेश्याम कायष्थ भन्ने लेखकमा कास्की लेखनाथको पचभैयामा २००० सालमा जन्मेका राधेश्याम कायष्थको हाल स्थायी वासोवास पोखराका पालिखेचोकमा रहेको छ । उनले वनस्पती शास्त्रमा स्नातकोत्तरको उपाधि हासिल गरेर ३७ वर्षसम्म लगातार पोखराकै पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराए । क्याम्पसमा रहँदा विभिन्न उपसमितिमा रहेर थप सेवा पनि प्रदान गरे । यसको अतिरिक्त न्यूग्यालेक्सी उच्च मा.वि. को प्राचार्य, माउन्ट अन्नपूर्ण क्याम्पसको प्रमुखजस्ता पदमा रहेर पनि शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । उनले पढाएका विद्यार्थीहरू महत्वपूर्ण पदमा पुगेका देख्दा तिनीहरूलाई आफ्नो सम्पती सम्झेर आनन्द लिने वहाँको स्वभाव रहेको छ । यस्तै –यस्तै कार्यले गर्दा वहाँलाई सन् १९९८ मा ःबल या तजभ थभबच बाट सम्मानित गरिएको थियो । साथै विभिन्न शैक्षिक तथा सामाजिक संस्थाबाट विभिन्न कदरपत्र, सम्मानपत्रद्वारा सम्मान गरिएको कुरा लेखकले उल्लेख गरेका छन् ।
सामाजिक समरसताका पक्षधर खरिलाल विश्वकर्मा भन्ने लेखमा निज खरिलाल पर्वत जिल्लाको कुस्मा नगरपालिकामा १९९३ सालमा जन्मेर हाल पोखराको रामबजारमा कर्मथलो बनाएका रहेछन् । भागवत कथा वाचक पं. नारायणप्रसाद पोखरेलको सम्पर्कमा रहेर धेरै महायज्ञमा सरिक भएका, रकम दान दिएका, पोखराकै टुटुङ्गामा करिव ३ रोपनी जग्गा कुष्टरोग कार्यालयलाई दान दिएर उल्लेखनीय काम गरेका रहेछन् । विश्वहिन्दु महासङ्घ अन्तरगतको राष्ट्रिय दलित उत्थान समन्वय समितिको केन्द्रीय अध्यक्ष भएर छुवाछुत विरुद्धको आन्दोलनमा सक्रिय भएर काम गरेका, रेडक्रस सोसाइटी, नेपाली काङ्ग्रेस, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, सनातन धर्म सेवा समितिजस्ता सामाजिक, धार्मिक, राजनीतिक संस्थामा सक्रिय रहेको कुरा लेखकले उल्लेख गरेका छन् । विभिन्न धार्मिक मन्दिर तथा विद्यालयहरूमा अक्षयकोष राखेर दान दिएका, दलित उत्थानमा सक्रिय भएर काम गरेकाले अन्तर्राष्ट्रियस्तरको डा. अम्बेडकर अवार्ड २००४ समेतका सम्मानपत्र, कदरपत्र पाएर सम्मानित भएको कुरा पुस्तकमा उल्लेख गरिएको छ ।
एड्स रोग निवारणमा सक्रिय विश्वमोहन गौचन भन्ने लेखमा नेपाल एड्स रोग नियन्त्रण सङ्घ कास्कीका अध्यक्ष तथा एच.आई.भि.एड्स सञ्जालका गण्डकी प्रदेशका अध्यक्ष विश्वमोहन गौचन सानै उमेरदेखि सामाजिक र राजनैतिक कार्यकर्ता हुन् । मिलनसार स्वभावका १९९८ सालमा जन्मेका गौचन पहिले शिक्षक भएका थिए भने पछि राजनीतिमा प्रवेश गरेर तत्कालीन पोखरा नगर पञ्चायतको उपप्रधानपञ्च, गाउँ फर्क राष्ट्रिय अभियान अन्तरगत कास्कीको अध्यक्ष भइसकेपछि राजनीतिबाट अलग भएर केही समय काठमाडौंमा होटल सञ्चालन गरेर बसेका थिए । पछिल्लो समयमा उनले एड्स रोग सचेतनाका लागि वृत्तचित्र पनि वनाए वापत पुरस्कृत भए । सारांशमा विश्वमोहन गौचन सरल र सामाजिक व्यक्ति हुन् र उनको सामाजिक कार्यबाट प्रभावित भएर दर्जनौं सङ्घ संस्थाबाट कदरपत्र, सम्मानपत्रद्वारा सम्मानित भएका छन् ।
धार्मिक अगुवा लीलाभक्त आचार्य भन्ने लेखमा पोखराका लीलाभक्त आचार्य उमेरले पाको भएपनि सधैं जुनसुकै कार्य गर्न पनि अगाडि सर्ने सरल, धार्मिक र सामाजिक तथा केही मात्रामा राजनैतिक स्वभावका रहेछन् । १९८७ सालमा जन्मेका उनले पोखरामा दर्जनौं मन्दिर र विद्यालय स्थापना मात्र होइन, आर्थिक सहयोग गरेर उल्लेखनीय काम गरेको कुरा उक्त पुस्तकमा पढ्न पाइन्छ । अहिले पछिल्लो पटक पुम्दीभुम्दीमा बनेको शिव मन्दिरमा पनि २५ लाख रुपया दान दिएर उदाहरण देखाएका छन् । पं. नारायणप्रसाद पोखरेललाई पोखरामा ल्याएर कैयौं पुराण लगाएर सङ्कलित रकमले यहाँको शैक्षिक र विकास निर्माणको काममा सहयोग पु¥याएका थिए । उनी राममन्दिर विरौटाको संस्थापक मात्र होइन, आजसम्म पनि अध्यक्ष भएर धार्मिक कार्यमा जीवन समर्पित गरेका छन् । तत्कालीन पोखरा नगर पालिकाको कडा अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका र नेपालमा प्रजातन्त्र स्थापना गर्न सक्रिय लीलाभक्तलाई सारांशमा धार्मिक र शैक्षिक क्षेत्रका अगुवा भनिन्छ । उनलाई दर्जनौं सङ्घ संस्थाबाट उनको कदरस्वरूप कदरपत्र, सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको कुरा लेखकले उल्लेख गरेका छन् ।
घाट निर्माणकै लागि दत्तचित्त भक्तराज भन्ने लेखमा पोखरा वगालेटोल निवासी भक्तराज श्रेष्ठको प्रारम्भिक जीवन वैंक तथा सरकारी नोकरी गरेर बितेपनि सेवा निवृत्त जीवन सामाजिक र धार्मिक अभियन्ताको रूपमा वितेको देखिन्छ । महायज्ञ लगाएर सङ्कलित रकमबाट मठमन्दिर तथा दाहसंस्कारको घाट निर्माणमा लगाउने उनको कार्य प्रशंसनीय छ । जहाँसुकै जोसुकैले यज्ञ लगाएको थाहा पाएपछि त्यहाँ भक्तराजबाट दान भएकै देखिन्छ । २००३ सालमा जन्मेका उनको जीवन नै अर्कालाई केही दिन र बाड्न जन्मेको जस्तो देखिन्छ । किरियापुत्री भवन, वृद्धाश्रम भवन, धर्मशालाजस्ता संस्थामा भक्तराजको दान पुगेकै हुन्छ । दाहसंस्कारको लागि पोखराको शान्तिघाटमा धेरै समयदेखि अध्यक्ष भएर निर्माणको कार्य गरी प्रशंसनीय कार्य गरेका छन् । यसैको फलस्वरूप दर्जनौं सङ्घ संस्थाबाट उनलाई कदरपत्र, सम्मानपत्रद्वारा सम्मान गरिएको कुरा उक्त पुस्तकमा पढ्न पाइन्छ ।
आध्यात्मिक चिन्तक जवाहरलाल श्रेष्ठ भन्ने लेखमा पोखरा मोहरियाटोल निवासी जवाहरलाल श्रेष्ठको प्रारम्भिक जीवन नोकरी गरेर बित्यो । नोकरी छोडेपछि वंशानुगत पेशा व्यापारमा लागे । व्यापारबाट राम्रो उपलब्धि भयो । पोखरा, वुटवल, काठमाडौंमा उनको व्यापार विस्तार भयो । जीवनको उत्तराद्र्धतिर धार्मिक कार्यमा चुर्लुम्म डुबेको देखिन्छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा लागेर उल्लेखनीय कार्य गरे भने पोखरामा देखाइने बाघ जात्राको संयोजक भएर सांस्कृतिक कार्यलाई जीवन्त राख्न सफल भए । तर हाल पोखराको बाघ जात्रा रोकिएको छ । त्यस्तै गाईघाट विकास क्षेत्रमा पनि उल्लेखनीय काम गरेर गाईघाटको मुहार फेरिदिएका छन् । त्यसै गरी धारापानीमा किरियापुत्री भवन बनाएर उदाहरणीय काम गरेका छन् । सङ्गीतका पारखी भएकाले सङ्गीत प्रशिक्षण केन्द्रको भवन बनाउने कार्यमा पनि उल्लेखनीय सहयोग गरेका छन् । १९९९ सालमा जन्मेका उनी ईश्वप्रति आस्था र भक्ति राख्ने यी जवाहरलाल श्रेष्ठलाई विभिन्न सङ्घ संस्थाबाट सम्मान गरिएको कुरा लेखकले उल्लेख गरेका छन् ।
बहुआयमिक व्यक्तित्व तारानाथ पाखे भन्ने लेखमा पोखरा–१५, ढुङ्गेसाघुँको कोलपाटनमा २००० सालमा जन्मेका तारानाथ गौतम ‘तारा पाखे’ को नामले चिनिन्छन् । उनले आध्यात्मिक शिक्षा आर्जन गरेकाले उनमा आध्यात्मिक ज्ञान अर्थात् पूर्वीय दर्शनको राम्रो ज्ञान रहेको छ । पेशाले उनी एक शिक्षक थिए । उनले पहिला पोखराको भद्रकाली मा.वि.मा. र पछि अमरसिंह नमुना मा.वि.मा पढाए तर सरस्वतीका वरद्पुत्र भएकाले उनले कविता, निबन्ध, संस्कणात्मक लेख, जीवनीजस्ता विधामा २ दर्जन भन्दा बढी पुस्तक प्रकाशित गरेका छन् । यसैले उनी एउटा सिद्धहस्त लेखक हुन् । लेखकको अतिरिक्त पूर्वीय दर्शनका ज्ञाता भएकाले उनलाई धार्मिक र सामाजिक अभियन्ताको रूपमा चिनिन्छ । विभिन्न सङ्घ संस्थामा विभिन्न पदमा रहेर सामाजिक कार्य गरेकाले विभिन्न सङ्घ संस्थाबाट उनलाई सम्मान गर्दै सम्मानपत्र, कदरपत्र, नगद पुरस्कारसमेत दिइएको छ । त्यसको अतिरिक्त प्रजातन्त्र प्राप्तिको लागि उनले आफू जान्ने बुझ्ने भएदेखिनै प्रजातान्त्रिक सङ्घर्षमा लागिरहने उनको सकारात्मक सोच रहेको कुरा लेखकले व्यक्त गरेका छन् ।
स्वास्थ्य क्षेत्रको सर्वाेच्च पद उपकुलपति डा. बुद्धिबहादुर थापाभन्ने लेखमा तनहुँको उदाउने ढुङ्गातथा हालको शुक्लागण्डकी नगरपालिकामा २०१२ मा जन्मेका डा. बुद्धिबहादुर थापा २०२९ सालको एस.एल.सी. परीक्षामा बोर्ड थर्ड भएर एउटा मोफसलको विद्यार्थीको प्रतिभा गजागर गरेका रहेछन् । त्यस्तै काठमाडौंको अमृत साइन्स क्याम्पसमा पढ्दै गर्दा कोलम्बो प्लान अन्तरगत एक नम्बरमा छनौट भई भारतको विहारस्थित झारखण्डको राजेन्द्र मेडिकल कलेजबाट एम.वी.वी.एस पास गरी मेडिकल डाक्टरको उपाधि लिएका रहेछन् । लामो समय सरकारी अस्पतालमा सेवा गरेका र अन्तिम अवस्थामा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट भई त्यहींबाट सेवा निवृत्त भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको पदमा नियुक्त भएका छन् । मृदुभाषी डा. थापा उक्त प्रतिष्ठानमा स्नातकोत्तर स्तरको पढाइ सञ्चासलन गर्न सक्रिय रहेको कुरा उक्त पुस्तकमा उल्लेख छ । त्यतिमात्र होइन, उनले आफ्नो जन्मथलोमा सामुदायिक अस्पताल खोल्न पनि सक्रिय भूमिका खेलेको कुरा पनि पुस्तकमा उल्लेख छ । उनलाई विभिन्न सङ्घ संस्थाबाट सम्मानित गरिएको छ । ती मध्ये बेलायतको रोयल कलेजबाट VRCP को उपाधि प्राप्त गरेर कीर्तिमानी कायम गरेका छन् ।