पोखरा । “बदनाम गरेर संतोष मिल्छ भने मेरो बदनाम गर्दै हिँड म जिउँदै भए पनि मर्यो भनेर फूल अक्षता छर्दै हिँड” यो मुटु चसक्क चस्किने दुई हरफ लोकप्रिय गीतकार सुमन श्रापितद्वारा रचित गीतको हरफहरु हुन । सबै खाले गीतमा उत्तिकै मर्म पोखेर गीत लेख्न सिपालु गीतकार सुमन श्रापितको रचना, सुप्रसिद्ध संगीतकार बि.बि. अनुरागीको संगीत र नव प्रतिभा गायिका सुनिता श्रेष्ठको आवाजमा रहेको आधुनिक गीत “बदनाम गरेर” आज “बसाई अफिसियल युट्युब च्यानल” मार्फत विश्व बजारमा सार्वजनिक गरिएको छ ।
जब चोखो प्रेममा तिक्तता आउछ तब एक अर्कामा “ब्लाक मेकिङ” गर्ने गरिन्छ । यो गर्छु त्यो गर्छु भनेर हुर्मत लिइरहेका बेला हार खाएर जे जे मन लाग्छ गर भनि तितोपन पोखिएको गीत हो । गीतका संबन्धमा सोधिएको एक प्रश्नमा गीतकार सुमन श्रापित भन्छन् ” यो म आफैलाई पनि औधी मन पर्ने गीत हो । यो गीत रेकर्ड हुँदा र भैसकेपछि पनि एकदमै खतरा शब्दको गीत रेकर्ड भएको छ रे भन्दै नाम चलेका सर्जक स्टुडियोमा गीत सुन्न आएको स्मरण सुनाए । यो गीत झण्डै दश बर्ष अगाडि रेकर्ड भएको संगीतकार बिबि अनुरागीको एकल संगीत र गीतकार सुमन श्रापितको एकल रचना र पोखरेली नव गायक गायिकाहरुको आवाजमा तयार गरिएको एल्बम “सङ्कल्प”मा समाबेश गरिएको गीत हो ।
प्रिज्म डिजिटल, काठमाडौंमा रेकर्ड गरिएको यस गीतलाई ध्वनि सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् । त्यतिबेला त्यति बढी भिडियोको जमाना नभएकोले अफिसियल रुपमा भिडियो हुन बाँकी रहेको थियो । यति मर्मस्पर्सी गीतलाई यत्तिकै मर्न दिनु हुन्न भन्ने लागेर भिडियो गरि रिलिज गरिएको गायिका सुनिता श्रेष्ठले बताइन् ।
यस गीतको भिडियो निर्देशन एवम् सम्पादन सन्जु सुनारले गरेका छन् भने छायांकन मुबारक अली, सह छायांकन अभिलेख घिमिरे र मेक-अप सुरक्षा ढेवाजुको रहेको छ । यो गायिका सुनिता श्रेष्ठको रेकर्ड गरिएको पहिलो गीत हो । यसपछि पनि उनका केही गीतहरू रेकर्ड भएका छन् ।