यज्ञ बन्जाडे
काठमाडौँ — ग्राहकले एटीएम कार्डबाट मासिक ४ लाख रुपैयाँभन्दा बढी रकम निकाल्न नपाउने भएका छन् । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।
यसअघि एटीएमबाट हुने प्रतिपटक र दैनिक कारोबारका लागि मात्र सीमा तोकिएको थियो । अहिले मासिक कारोबारको सीमा पनि तोकिएको हो । एटीएमबाट धेरै रकम बाहिरिएको सूचनाका आधारमा मासिक सीमा तोकिएको राष्ट्र बैंक स्रोतले ज
यसअघि एटीएम कारोबारमा प्रतिपटक बढीमा २५ हजार र दैनिक एक लाख रुपैयाँसम्म मात्र झिक्न पाइन्थ्यो । उक्त व्यवस्थासँगै राष्ट्र बैंकले मासिक ४ लाख रुपैयाँभन्दा बढी निकाल्न नपाइने व्यवस्था थपेको हो । कोभिड–१९ को जोखिम उच्च रहेको भन्दै बैंक तथा वित्तीय संस्थामा भीड नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यही कारण गत चैतमा राष्ट्रव्यापी रूपमा लकडाउन गर्दा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरेका थिए । यसको उद्देश्य नगद झिक्नकै लागि ग्राहक बैंकसम्म पुग्नु नपरोस्, जुनसुकै एटीएमबाट पनि पैसा निकाल्दा शुल्क नलागोस् भन्ने थियो । यही कारण पछिल्लो ५ महिनामा एटीएम कारोबार उल्लेख्य बढेको छ । यही समयमा राष्ट्र बैंकले एटीएमको मासिक कारोबारमा सीमा तोकेको हो ।
एटीएम कारोबार बढिरहेको समयमा फेरि किन अंकुश लगाउनुपर्यो ? राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख भुवन कँडेल भन्छन्, ‘सर्वसाधारणलाई एटीएममार्फत मासिक ४ लाख रुपैयाँ भए पुग्छ भन्ने हाम्रो बुझाइ हो । एटीएम ठूला कारोबारका लागि होइन ।’ त्यसभन्दा ठूला कारोबारका लागि मोबाइल, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, आरटीजीएसलगायत अन्य विभिन्न विकल्प रहेको उनले बताए ।
‘एटीएमबाट धेरै रकम निकाल्न दिनु भनेको नगद कारोबारलाई प्रोत्साहन गर्नु हो,’ कँडेलले भने, ‘जुन राज्य र राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिविपरीत हो ।’ डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति भएकाले पनि एटीएममा मासिक कारोबार सीमा तोकिएको उनले दाबी गरे । ‘हरेक दिनजसो धेरै कारोबार गर्नुपर्ने व्यक्ति, उद्योगी तथा व्यवसायीले भुक्तानीका लागि अन्य डिजिटल माध्यम रोज्नुपर्यो,’ उनले भने, ‘एटीएमलाई ठूलो कारोबारको माध्यम बनाउन भएन ।’
कोभिड–१९ को जोखिम बढिरहेको समयमा भीड नहोस् भन्न एटीएमको कारोबारमा सीमा तोक्नु उपयुक्त नभए पनि डिजिटल बैंकिङ प्रोत्साहनका लागि सही निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘यो निर्देशनबारे पूर्ण रूपमा बुझ्न र साथीहरूसँग छलफल गर्न पाएको छैन,’ उनले भने, ‘तर, डिजिटल बैंकिङ कारोबार प्रोत्साहनका लागि गरिएको हो भने राम्रो हो ।’ हाल डिजिटल बैंकिङमार्फत कम शुल्कमा पनि सजिलै ठूला कारोबार गर्न सकिने भएकाले एटीएमको कारोबारमा सीमा तोक्दैमा समस्या नहुने उनको भनाइ छ ।
एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा ग्राहकबाट शुल्क लिन नपाइने निर्देशन कायमै रहेको पनि राष्ट्र बैंकले जनाएको छ । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।
यो नयाँ व्यवस्था भने होइन । कोभिड–१९ को जोखिमबाट बच्न गत चैतमा सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरेका थिए । सरकारले लकडाउन खुकुलो बनाएको भन्दै गत साउनदेखि बैंक तथा वित्तीय संस्थाले उक्त कारोबारमा शुल्क लिन थालेका थिए । तर साउन २ गते सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले कोभिड–१९ को असर रहँदासम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था ल्यायो । ‘बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआबद्धता हुने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘कोभिड–१९ को असर रहेसम्मका लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरे शुल्क नलाग्ने व्यवस्था मिलाइनेछ ।’
त्यसपछि राष्ट्र बैंकले सूचना जारी गरी अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गर्यो । अहिले त्यही व्यवस्थालाई एकीकृत निर्देशिकामा समावेश गरेको हो । ‘अर्को सूचना जारी नहुँदासम्म बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन पाउँदैनन्,’ राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख कँडेलले भने । बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट लिने अन्य विद्युतीय कारोबारमा पनि धेरै शुल्क लिएको गुनासो प्राप्त भएकाले ती शुल्कबारे पनि राष्ट्र बैंकले सूक्ष्म रूपमा नियालिरहेको उनले बताए ।
लकडाउन अवधिमा एटीएममार्फतको कारोबार उल्लेख्य बढेको छ । गत वैशाखमा एटीएममार्फत २७ अर्ब ८४ करोड रुपैयाँ कारोबार भएको थियो । असारमा यो बढेर ५४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा एटीएम कारोबार संख्या पनि बढेको छ । ०७७ वैशाखमा एटीएममार्फत ३४ लाख ८८ हजार वटा कारोबार भएको थियो । गत असारमा यो संख्या बढेर ६३ लाख पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
कान्तिपुरमा समाचार छ।