पोखरा । पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई खाधन्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–१५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाधन्न सहयोग गरेको हो पोखरा जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन सो कार्यक्रम गरेको हो ।
खाधन्न वितरण गर्दै जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले आफुहरुले जति सक्दो सहयोग गरेको बताए । त्यसतै नेपाल कुष्ठरोग निवारण संघका अध्यक्ष नारायण शर्माले पोखरा जेसिजकै सहयोगमा आश्रमको स्थापना भएको जानकारी दिए । ‘कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरस जस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गरे सरहको अवस्था थियो । पछि औषधी बन्न थाल्यो । हामिले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियौ’ शर्माले भने । आश्रममा खाधन्न तथा स्वास्थ्य सामग्री आवश्यक परेको समयमा पोखरा जेसिजले मर्म बुझेर सहयोग गर्नु सम्मान योग्य रहेको धारणा राखे । आश्रम जस्तै जेसिजमा लागेका नयाँ पुस्ताले पनि दिर्घकालीन योजनाको बारेमा सोचेर अघि बढ्न आग्रह गरे ।
सोहि क्रममा बोल्दै वडा १५ का वडा अध्यक्ष प्रकाश पौडेलले मानवतालाई आत्मसाथ गर्दै सामाजिक कार्य गरेकोमा खुसी व्यक्त गरे । अव प्रकृतिको समेत संरक्षणमा लाग्नुपर्ने धारणा राख्दै जेसिजले दिएको ५ दिने तालिमले आफुलाई समाजसेवा गर्न प्रेरित गरेको सुनाए । जेसिजले यसरीनै विकृति र विसंगतिमुक्त समाज निमार्ण गर्न सकोस भन्दै सफलताको शुभकामना व्यक्त गरे ।
सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्काले आफुहरु समाजसेवा गर्न सातदिन पुर्णरुपमा समर्पित भएर लागेको बताए । ‘हामिले यो सातदिनको कार्यक्रममा धेरै कुरा सिक्ने लक्ष्य राखेका छौ । यस्ता कार्यक्रमले हामीभित्र एउटा निखारपन ल्याउन सान्दर्भिक छ । हामीलाई सामाजिक कार्यमा अग्रसर मद्दत मिलेको छ’ खड्काले भने । उनले सप्ताहव्यापी कार्यक्रमको बारेमा समेत जानकारी दिएका थिए । कार्यक्रमा पुर्व जेसिज अध्यक्ष, जेसिज सदस्यहरुको सहभागिता रहेको थियो ।