स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई पत्र लेखी गत शुक्रबार ९ कात्तिक बाट लागू हुने गरी लक्षित समूहबाहेक सबैसँग उपचार खर्च लिन पत्राचार गरेको थियो । अस्पतालका अनुसार कोभिड–१९ का सङ्क्रमित जटिल भएको अवस्थामा भेन्टिलेटरसहित सघन उपचार कक्षमा दैनिक उपचार खर्च १५ हजार तथा धरौती ५० हजार, भेन्टिलेटरमा उपचार गर्दा सात हजार ५००, मध्यम जटिल बिरामीलाई क्याबिन आइसोलेसनमा राख्दा सात हजार ५०० र मध्यम जटिल बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राख्दा रु तीन हजार ५०० दैनिक खर्च राखेको छ ।
यस्तै, जटिल र मध्यम बिरामीलाई अवस्था हेरेर २० हजारदेखि ३० हजारसम्म धरौटीसम्म राख्न भनिएको छ । अस्पतालले विपन्न, गरिब, ज्येष्ठ नागरिक, अतिअपाङ्गता, अशक्त, एकल महिलालाई भने अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णय बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचार शुल्कमा १० देखि शत्प्रतिशत छुट दिइने समेत जनाएको छ । एकमात्र सरुवा रोग अस्पतालका रुपमा रहेको उक्त अस्पतालले कोभिड–१९ का सङ्क्रमितको शुरुदेखि नै उपचार निःशुल्क गर्दै आइरहेको थियो । अस्पतालका निर्देशक डा राजभण्डारीले शुल्क लिने निर्णय पुनः विचार गर्न मन्त्रालयसँग आग्रह गरिएको बताए ।
रासस