पोखरा । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण र उनलाई दिने सम्मान रद्ध गर्न सरकार संग माग गर्दै आज संयुक्त देशभक्त मोर्चाले पोखरामा १ घण्टा प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि पूर्वाह्न १० बजे सामाजिक दुरी कायम गर्दै १ घण्टा शान्तिपूर्ण धर्ना दिने संयुक्त देशभक्त मोर्चाका प्रवक्ता रामबहादु पौडेलले पोखरा पोष्टलाई जानकारी दिए ।
कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको ईशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको उल्लेख गर्दै मोर्चाले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन माग गरेको छ ।
मोर्चाले विवादकाबीच नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेको स्पष्ट पारेको छ ।
भारतीय सेनाध्यक्ष नरवणेले यहि कात्तिक १९ गतेदेखि २१ गतेसम्म ३ दिने नेपाल भ्रमण गर्न लागेको नेपाली सेनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनाएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विशेष समारोहका बीच कात्तिक २० गते नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।