‘वैध मत मात्र गणना गरिए आफूले सजिलैसँग जित्ने’ ट्रम्पको दाबी, ‘संयमित’ हुन बाइडनको आग्रह

0
453

अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्।

ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरे।

“लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ”, उनले भने, तर “प्रक्रियाले काम गरिरहेको छ।”

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, “अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।”

‘हस्तक्षेप’

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई “कुनै शङ्का नरहेको” पनि बाइडनले बताए।

त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा ‘धाँधली’ गरिएको आरोप फेरि लगाए।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन्।

ट्रम्पले भने, “यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।”

हुलाकमार्फत्‌ गरिएको मतदान ‘एकतर्फी’ भएको दाबी पनि उनले गरेका छन्।

BBC