पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको अर्थमन्त्री विष्णु पौडेलले आफ्नो आधिकारिक तथा प्रमाणित ट्वीटर् ह्याण्डलमार्फत् पुष्टि गरेका हुन् ।
केसी न्यूमोनियाबाट पनि पीडित छन्। केसीमा यसअघि पनि विभिन्न किसिमका रोगहरु देखा परेका थिए । उनको हाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री पौडेलले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सुस्वास्थ्यको कामनासमेत गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’