आज नेपाल संवत्अनुसारको नयाँ वर्ष नेपाल संवत् ११४१ मनाइँदै  

0
359

पोखरा।  कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदै छ।

नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदै छ। यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेसंको सुरुआत गराएका हुन्। नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने।

विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।