व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

0
489

पोखरा ।राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा ६ वर्षीया  बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ ।

बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे  आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल द्वारा जारी विज्ञप्तिमा जनाईएकाे छ।

 

बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, आयोगले आग्रह गरेको छ ।

 

आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्क र सचेत हुनुपर्ने बताएको छ ।

त्यस्तै घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई आग्रह गरेको छ ।