महिनावारी बार्नु पर्देन भन्ने कुरा धार्मिक गुरुहरु मार्फत नै समाजमा जनचेतना फैलाउनु पर्नेमा जोड

0
998

पोखरा। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया महिनावारी (मासिक श्राव)वार्नु पर्देन भन्ने कुरा धार्मिक गुरुहरु मार्फत नै समाजमा जनचेतना फैलाउनु पर्नेमा जोड दिनु भएको छ ।मर्यादित महिनावारी दिवसका अवसरमा सोमबार पोखरामा आयोजित मर्यादित महिनावारी नै किन ?बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले महिनाबारी भएकै कारण गरिने छुवाछुतको अन्त्य गर्नका लागि धार्मिक गुरुहरु मार्फत नै समाजमा जनचेतनामुलक अभियान संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
राधा फाउन्डेसन नेपालका फाउन्डर राधा पौडेलले महिनाबारी संग जोडेर गरिने छुवाछुत, बिभेद ,हिँसा र दुव्र्यबाहार कारणले किशोरीहरुमा डिप्रेशन बढ्दै गएको उल्लेख गर्नुभयो । महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन नसक्दा समाजमा घरेलु हिँसा ,यौनजन्य हिँसा र बलत्कारका घटना समेत बढ्दै गएकोउहाँको भनाई थियो ।
हातेमालो अभियान नेपालका अध्यक्ष डा. लक्ष्मी पन्थीले महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया भएको उल्लेख गर्दे यस्तो अबस्थामा सामान्य व्यवाहार गर्न आग्रह गर्नु भयो । महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्कने हुदा सरसफाईमा बढी ध्यानदिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
पंडित गिरिराज पौडेलले महिनाबारी मासिक पाप नभै मासिक धर्म भएको जानकारी दिदै       महिनावारी बार्नु भनेको संयमित हुनु र समयको सदुपयाेग गर्नु पनि भएकाले मासिक धर्मकाे सदुपयोग गर्नु पर्नेमा उहाँले  जाेड दिनुभयो । धार्मिक शास्त्रहरुमा महिनाबारी बार्नु पर्छ भन्ने कुरा कतै उल्लेख नगरिएको उहाँले दाबी गर्नु भयो ।
कानुनविद् कृष्णराज पन्तले यौन तथा प्रजनन स्वास्थलाई संबैधानिक अधिकारको रुपमा स्थापित गरेको जानकारी दिदै मुलुकी अपराध संहिता २०७४ मा महिलाको रजस्वला तथा सुत्केरीको अबस्थामा छाउपडीमा राख्ने वा अन्य कुनै किसिमको भेदभाब ,छुवाछुत वा अमानवीय व्यवहार गर्ने वा गराउनेलाई तीन महिना सम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिनुभयो।
हातेमालो अभियान नेपालको आयोजना,राधा फाउन्डेसन नेपालको सहयोग तथा पहल नेपालको समन्वयमा भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला समुह गण्डकीका अध्यक्ष सरिता तिम्सिना पगेनी, हातेमालो अभियान नेपालका उपाध्यक्ष दिलिपराज पौडेल,पहल नेपालका संस्थापक प्रकाश अधिकारी,अधिकारकर्मी अन्जना केसी, नानुमाया पराजुली, लगायतले बोल्नु भएको थियो ।