पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले सहकारीले मर्जरको नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था र ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था एकिकरण भई बनेको सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको आज पोखरा महेन्द्रपुलस्थित सेवा केन्द्रको एकिकृत कारोबार शुभारम्भ गर्दै थापाले उक्त कुरा बताएका हुन ।
‘नेपालको जनसंख्या र भूगोलका हिसाबले सहकारी धेरै भएकाले बलियो संस्था बनाउनुपर्छ,’ उनले भने, ‘सानो, तिनो हावा हुरीले भत्काउन नसक्ने भएकाले सहकारीले मर्जरको नीति अवलम्बन गर्नु आवश्यक छ ।’
सांसद थापाले सवल, सक्षम र व्यावसायीक कारोबारका लागि सहकारीहरु एकिकृत भएर जाँदा राम्रो हुने बताए । सहकारीले छरिएर रहेको पूँजीलाई एकिकृत गर्ने, सहकारी सदस्यहरुबीच आईपर्ने सुख दुःखका काममा नजिकको सहयोगि हुने पक्ष राम्रो भएको बताउँदै सबै तहका सरकारले सहकारीलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था र ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था एकिकरण भई बनेको सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाले महेन्द्रपुलबाट एकीकृत कारोबारसमेत थालेको छ । पोखरा -१२ उपकारमार्ग अमरसिंहचोकमा प्रधान कार्यालय रहेको सहकारीले पोखरा -२७ तालचोकमा सेवा केन्द्र स्थापना गरी कारोबार गरेको अध्यक्ष खेमबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ -का अध्यक्ष रामराज लामिछाने, वडा नम्बर -३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु, जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष सुदीप ढकाल, अन्नपूर्ण सुपर मार्केटका सञ्चालक रिबबहादुर थापा, सिदार्थ गौतम सहकारीका उपाध्यक्ष जगदीश गौतम, सचिव सरिता तिमिल्सिना पंगेनी, पत्रकार कृष्ण बास्तोला लगायतले बोलेका थिए ।